असार २६ बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा निर्माणकार्य सुरु गरिएको मन्दिर निर्माणको काम असार २३ गते सम्पन्न भएको हो । बिहीबार सार्वजनिक गरिएको सूचनामा पुनर्निर्माण कार्य गत २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ ।
२०८१ साल चैत्र २८ गते देखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको सेनाले निर्माण लागतबारे कुनै विवरण भने सार्वजनिक गरेको छैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दायरा भित्र रही पुरातत्त्व विभागबाट स्वीकृत डिजाइन, त्रिवेणी नगरपालिकासँगको समन्वय र परम्परागत सामग्रीको प्रयोग गर्दै मन्दिरलाई पुरानै मौलिक स्वरूपमा पुनः निर्माण गरिएको बताइएको छ ।
सेनाले जारी गरेको सूचनामा विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनको चुनौतीबीच पनि रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, मन्दिरका पुजारी, त्रिवेणी भक्तपुर र ललितपुरका कारीगर तथा स्थानीयवासीहरूको सहयोगमा करिब दुई महिनामा काम सम्पन्न गरिएको हो ।
पुनर्निर्माणसँगै मन्दिर सर्वसाधारणको लागि खुला गरिएको छ । ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडिमालिका नेपालकै प्रमुख धार्मिक गन्तव्यहरू मध्ये एक हो, जहाँ प्रत्येक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्छ । नेपालका चार वटा प्रमुख धाम मध्ये बडिमालिका एक हो ।


