असार ०९ धनढी । बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५५ करोड ९० लाख ७४ हजार एक सय नौ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष धना धामीले ५५ करोड ९० लाख ७४ हजार एक सय नौ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन । बजेट प्रस्तुत गर्दै उनले चालु र पुँजीगत खर्चका लागि विनियोजन गरिएको विवरण प्रस्तुत गरेकी हुन ।
३७ करोड ४९ लाख ६७ हजार एक सय नौ रुपैयाँ चालुतर्फ र १८ करोड ४१ लाख ७ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको उपाध्यक्ष धामीले जानकारी गराईन ।
पालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत नौ करोड ६० लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान अन्तर्गत ८२ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँट अन्तर्गत १० करोड ७३ लाख ९८ हजार एक सय नौ रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी प्रदेश सरकारबाट २९ लाख ७१ हजार रुपैयाँ प्राप्त राजस्व प्राप्त गरेको छ ।
नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान २२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने प्रदेश सरकारको ससर्त अनुदान ७० लाख रुपैयाँ र आन्तरिक आम्दानी ७६ लाख १५ हजार रुपैयाँ रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी गराए ।
त्यसैगरी चालु आर्थिक वर्षको सम्भावित बैंक मौज्दात चार करोड ७० लाख ६० हजार रुपैयाँ रहने अनुमान गरिएको उपाध्यक्ष धामीले बताइन् ।
बजेट वक्तव्यमा सिगास गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी गराएको छ ।


