असार ०४ धनगढी । कैलालीका १३ वटै पालिकामा सवारी साधन मर्मत र इन्धनमा १५ करोड ११ लाख २ हजार ४ सय ३७ रुपैयाँ खर्च भएको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाहरूमा सवारी साधन मर्मत र इन्धनमा १५ करोड ११ लाख २ हजार ४ सय ३७ रुपैयाँ खर्च भएको पाइएको हो । अधिकांश पालिकामा मितव्ययी र मापदण्ड विपरीत खर्च गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले सवारी साधन मर्मतमा ३८ लाख २८ हजार २ सय २५ रुपैयाँ खर्च गरेको छ । जुन आन्तरिक आयको १.१६ प्रतिशत रहेको छ । त्यसैगरी इन्धनमा ३ करोड १० लाख २१ हजार ८ सय ५८ रुपैयाँ खर्च गरिएको छ । जसमध्ये कार्यालय प्रयोजन १ करोड १० लाख ४८ हजार २७ रुपैयाँ ७५ पैसा, पदाधिकारी शीर्षकमा ८ लाख ६४ हजार २ सय ७७ रुपैयाँ, अन्य प्रयोजन ११ लाख ८१ हजार ३ सय २ रुपैयाँ र टिप्पर सञ्चालन इन्धन खर्चमा १ करोड ७९ लाख २८ हजार २ सय ५२ रुपैया रहेको छ ।
त्यसैगरी टीकापुर नगरपालिकामा सवारी साधन मर्मतमा ५९ लाख २४ हजार ५ सय ५ रुपैयाँ खर्च गरिएको छ । पालिकामा ट्याक्टर ४, फोहोर वाहन १, शव वाहन १, टिप्पर १, मिनी टिप्पर १, जिप २, वारुण यन्त्र १, भ्याकुलोडर १, मोटरसाइकल ४१, स्कुटर ७ वटा रहेकोमा इन्धनमा ७९ लाख खर्च गरिएको छ । गोदावरी नगरपालिकामा सवारी साधन मर्मतमा ५९ लाख २९ हजार ७ सय ६९ रुपैयाँ खर्च गरिएको छ ।
जुन आन्तरिक आयको ४.३२ प्रतिशत हो । पालिकामा जिप २, स्कारपियो १, टिप्पर ३, एम्बुलेन्स ३, ब्याक हो लोडर २, ट्याक्टर १, दमकल १, शव वाहन १, मोटरसाइकल ५१, स्कुटर ५, जेनरेटर १ रहेकोमा इन्धनमा ९७ लाख ६६ हजार ८ सय ४९ रुपैयाँ खर्च गरिएको छ । जसमध्ये कार्यालय प्रयोजनमा ८७ लाख २१ हजार ८ सय ४९ र अन्य प्रयोजन शीर्षकमा १० लाख ४५ हजार रुपैयाँ रहेको छ ।
घोडाघोडी नगरपालिकामा सवारी साधन मर्मतमा ३९ लाख ९९ हजार ७ सय ९७ रुपैयाँ खर्च गरिएको छ । त्यस्तै इन्धनमा ५६ लाख ७८ हजार ४ सय ३७ रुपैयाँ खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा ४७ लाख ८६ हजार ५ सय ७६ रुपैयाँ र अन्य प्रयोजनमा ८ लाख ९१ हजार ८ सय ६१ रुपैयाँ खर्च गरिएको प्रतिवेदमा उल्लेख गरिएको छ ।
लम्की चुहा नगरपालिकामा सवारी साधन मर्मतमा ६४ लाख १ हजार रुपैयाँ खर्च गरिएको छ । पालिकामा २ पाङ्ग्रे ४४ थान, ट्याक्टर ५ थान, स्करोलर २ थान, कन्टेनर २ थान, स्कारपियो २ थान, टिप्पर २ थान, दमकल १ थान, जे.सि.बि. २ थान रहेकोमा १ करोड ११ लाख ५४ हजार ९ सय १२ रुपैयाँ इन्धनमा खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा ३४ लाख ९५ हजार ८ सय ९२ रुपैयाँ र अन्य शीर्षकमा ७६ लाख ५९ हजार २० रुपैयाँ खर्च गरिएको छ ।
भजनी नगरपालिकामा सवारी साधन इन्धन र मर्मतमा ५१ लाख ५२ हजार खर्च गरिएको छ । पालिकामा १ ब्याक हो लोडर, १ टिप्पर, ३ जिप, १ एम्बुलेन्स र ३१ मोटरसाइकल रहेकोमा इन्धन र मर्मतमा गरिएको खर्चमा पदाधिकारी, कर्मचारी तथा सार्वजनिक निर्माणमा खपत भएको इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत राखेको नपाइएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी गौरीगंगा नगरपालिकामा सवारी साधन मर्मतमा ४४ लाख ४२ हजार १ सय ८७ रुपैयाँ खर्च गरिएको छ । पालिकामा जिप ३ वटा, ब्याक हो लोडर १, लोडर १, मोटरसाइकल ४४, ट्रक १, ट्याक्टर १ र टिप्पर १ थान रहेकोमा ४९ लाख ९३ हजार २ सय ४० रुपैयाँ इन्धनमा खर्च गरिएको छ । जसमा कार्यालय प्रयोजनमा २५ लाख, पदाधिकारी शिर्षकमा २० लाख, अन्य प्रयोजन ४ लाख ९३ हजार २ सय ४० रुपैयाँ खर्च गरिएको छ ।
जानकी गाउँपालिकामा सवारी साधन मर्मतमा ४६ लाख ६२ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकामा १ ब्याक हो लोडर, २ टिप्पर, २ जिप, १ एम्बुलेन्स र ३२ मोटरसाइकल रहेकोमा मर्मत खर्चको अभिलेखलाई व्यवस्थित बनाउनका साथै यस्ता खर्चमा मितव्ययिता अपनाउनु पर्ने महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जानकी गाउपालीकामा इन्धनमा ६० लाख २४ हजार ८ सय ५३ रुपैयाँ खर्च गरिएको छ । बर्दगोरीया गाउँपालिकामा सवारी साधन मर्मतमा २१ लाख ९२ हजार ७ सय ८ रुपैया खर्च भए पनि मर्मत सम्पन्न फारम, मर्मत अभिलेख खाता तयार नगरी खर्च गरिएको पाइएकाले मर्मतको खर्चको यथार्थता परीक्षण गर्न नसकिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाले मर्मतलाई मितव्ययी बनाउन तोकिएको ढाँचामा अभिलेखाङ्क गरी अध्यावधिक गर्न भनेको छ । पालिकामा २ पाङ्ग्रे ३४ थान, एम्बुलेन्स १ थान, लोडर १, स्कारपियो १, रोलर १, ग्रेडर १, टिप्पर २, ट्याक्टर १ र एम्बुलेन्स १ रहेको उल्लेख छ । बर्दगोरीयामा इन्धनमा ३४ लाख ७५ हजार ६ सय १९ रुपैयाँ खर्च गरिएको छ ।
कैलारी गाउँपालिकामा सवारी साधन मर्मतमा २५ लाख खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै इन्धनमा ७२ लाख खर्च भएको छ । पालिकामा जेनरेटर १, जीप २, एम्बुलेन्स १, ट्याक्टर १, जेसीवी १ र ४० मोटरसाइकल रहेको उल्लेख छ ।
पालिकाले इन्धनको उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत नराखेको पाइएकाले यस्तो इन्धन तथा मर्मत खर्चको अभिरेखाङ्कन व्यवस्थित गर्न प्रतिवेदनमा भनिएको छ । त्यसैगरी मोहन्याल गाउँपालिकामा सवारी साधन मर्मतमा २७ लाख ४ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।
जुन आन्तरिक आयको २२.८३ प्रतिशत भएकाले यसलाई मितव्ययी बनाउन महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । पालिकामा २ पाङ्ग्रे १७, एम्बुलेन्स, ब्याक होल्डर र पिक अप जिप २÷२ रहेको उल्लेख छ । मोहन्यालमा इन्धनमा २७ लाख ४५ हजार ५ सय ८१ रुपैयाँ खर्च भएको छ । जोशीपुर गाउँपालिकामा सवारी साधन मर्मतमा ११ लाख १५ हजार १ सय ३० रुपैयाँ खर्च गरिएको छ ।
पालिकामा जेनरेटर १, ब्याक हो लोडर, १, जिप १, एम्बुलेन्स १, ट्याक्टर १ र १९ मोटरसाइकल रहेकोमा इन्धनमा ३९ लाख ३४ हजार ८० रुपैयाँ खर्च भएको पाइएको छ । उक्त इन्धन खर्चमा इन्धन उपयोगको विवरण खुल्ने अद्यावधिक अभिलेख समेत नराखेको पाइएकाले इन्धन खर्च र मर्मत खर्चको अभिरेखाङ्कन व्यवस्थित बनाउन भनिएको छ ।
चुरे गाउँपालिकामा सवारी साधन मर्मतमा ३३ लाख ५५ हजार ६३ रुपैयाँ खर्च गरिएको छ । जुन पालिकाको आन्तरिक आयको ४६.७८ प्रतिशत रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
चुरेमा २ पाङ्ग्रे २२, एम्बुलेन्स २, ब्याक होल्डर र पिक अप जिप १÷१ थान रहेकोमा इन्धनमा ४७ लाख ४९ रुपैयाँ खर्च गरिएको छ । पालिकामा कुपन सिस्टमबाट इन्धन वितरणको अभिलेख व्यवस्थित नराखेको पाइएकाले खर्चलाई मापदण्डमा आधारित बनाउन भनिएको छ ।


