जेठ २२ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–१६,रामपुरस्थित बेहडाबाबा मन्दिरमा बुधवार देखि गङ्गादशहरा मेला सुरु भएको छ ।
धार्मिक आस्थाको केन्द्र मानिने बेहडाबाबा मन्दिरमा प्रत्येक वर्षझैं यसपालि पनि गङ्गादशहरा मेला सुरु भएको हो । मेला व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले मन्दिरमा राति १२ बजे जल चढाएर पूजाअर्चना सुरु गरिएको बताए ।
पूजाका लागि कैलाली, कञ्चनपुर सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानबाट भक्तजनहरूको घुईचो लागैको उनले बताए । बेहडाबाबा मन्दिर सुदूरपश्चिम प्रदेशको मात्र नभई राष्ट्रिय धार्मिक धरोहरको रूपमा चिनिएको उनले बताए ।
जनविश्वास अनुसार, बेहडाबाबाको दर्शन गर्दा मनोकामना पूरा हुने, विशेषगरी पुत्र प्राप्ति र संकट निवारण हुने भएकाले पूजाआजा गरिने गरिएको छ । पर्वलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सडक मर्मत, विद्युत बत्ती जडान तथा अन्य आवश्यक व्यवस्थापन गरेको छ । बेहडाबाबाको महत्वलाई ध्यानमा राख्दै बिहीवार जेठ २२ गते सार्वजनिक बिदा दिईएको छ ।
भक्तजनहरूको सुविधाका लागि शिवगङ्गा नदी देखि मन्दिर सम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । मेलामा नेपालका साथै भारतको लख्खीमपुर, पलिया, पिलिभित, उत्तर प्रदेश र उत्तराखण्ड जस्ता विभिन्न स्थानबाट हजारौँ तीर्थयात्री आएको समितिले जनाएको छ ।
मन्दिर परिसरमा भारतीय व्यवसायीहरूद्वारा विभिन्न पसलहरू पनि सञ्चालनमा आइसकेका छन् । बिहीवार बिहानै देखि नेपाल–भारतका तीर्थयात्रीहरूको भीड लागेको छ । पहिलो दिन जल चढाउने, पूजाआजा सहित दर्शन कार्य भएको छ ।
भक्तजनहरूलाई पश्चिम ढोकाबाट लाइन मिलाएर दर्शन गराइएको छ भने अपाङ्ग, वृद्ध तथा असहायका लागि उत्तर ढोकाबाट विशेष प्रवेशको व्यवस्था गरिएको छ । मेलामा जेठ २५ गतेसम्म करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
गङ्गादशहराका अतिरिक्त चैत अमावस्या, माघी, शिवरात्रि, नयाँ वर्ष र साउन महिनाको प्रत्येक सोमबार बेहडाबाबा मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गरेको अध्यक्ष चन्दले बताएका छन ।


