जेठ १४ कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समय देखि कर नबुझाउने ६५ जना करदारतालाई कारबाही गर्ने भएको छ । पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातालाई आन्तरिक राजस्व कार्यालयले कारबाही गर्ने भएको हो ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरु प्रसाद पराजुलीले आर्थिक वर्ष २०८०÷८१ मा २५ जना करदातालाई कारबाही गरिएको बताए । विभिन्न माध्यमबाट पटक पटक ती करदातालाई कर बुझाउन आग्रह गरे पनि अटेरी गरेपछि उनीहरूको बैङ्क खाता रोक्का गरि कारबाही गरिएको पराजुलीले जानकारी गराए ।
आन्तरिक राजस्व कार्यालयले ती करदाताबाट चार करोड ९१ लाख २३ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको उनले बताए । त्यसैगरी चालु आर्थिक बर्ष २०८१÷८२ को हाल सम्म कर नबुझाउने ४० जना करदातालाखई पनि कारबाही गरिने उनले जानकारी गराए ।
मूल्य अभिवृद्धि कर नबुझाउने ४० जना करदाताको नाम अन्तिम पटक पत्र पत्रिकामा सार्वजनिक गर्दा समेत कर बुझाउन नआएकाले उनीहरूलाई कारबाही गरिने प्रमुख कर अधिकृत पराजुलीले बताए । राजस्व कार्यालयले ४० जना करदाताबाट तीन करोड ३१ लाख ५५ हजार रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको उनले बताए ।
दर्ता भएर पनि लामो समय देखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको कार्यालयका सूचना अधिकारी विजय भुसालले जानकारी गराए ।
सूचना अधिकारी भुसालले पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातालाई कारबाही अघि बढाएको बताए । करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएको उनदले बताए । कानुनी प्रक्रिया अघि बढाए पछि केही करदाता कर बुझाउन समेत आउने गरेको उनले बताए ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आर्थिक बर्ष २०८१÷८२ को १० महिनाको अवधिमा एक अर्ब ८१ करोड १३ लाख ६५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ७५.८७ प्रतिशत हो ।


