जेठ १४ बैतडी । केही दशक अघि सम्म विवाह, व्रतबन्ध र शुभकार्यमा गुञ्जने मसक बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । आकर्षक कपडाले बेरिएको छाला र रबरको थैलामा हावा भरेर बाँसुरी जस्तै पिपिर जडान गरी बजाइने मसक बाजाका सिपालु मानिस भेटिन पनि मुस्किल हुन थालेको छ ।
सुदूरपश्चिम र भारतको उत्तराखण्डमा यो बाजा प्रचलित छ । कुनै समय सुदूरपश्चिमका वैवाहिक समारोहमा अनिवार्य जस्तै हुने यो बाजा पछिल्लो समय विदेशी ब्यान्डबाजाको प्रयोगले सङ्कटमा परेको छ । मसक बाजा बजाउने नयाँ पुस्ताले पनि यो पेशा छोड्दै गएकाले यसको संरक्षणमा चुनौती थपिएको बैतडीका मसक बाधक ६५ वर्षीय कुर्रु दमाईंले बताए ।
दशरथचन्द नगरपालिका वडा नम्बर–४ मा सिलाइको काम गर्दै आएका कुर्रु दमाईं विगत ४० वर्षदेखि यो बाजा बजाउने बैतडी सदरमुकामका एक्ला बाधक हुन् । केही वर्षअघि सम्म विवाहमा मसक बाजाको माग हुने गरेकोमा पछिल्लो समय माग घट्दै गएको उनले बताए । विवाहमा मसक बजाएको पाँच हजार रुपैयाँ पारिश्रमिक लिने गरेको बताउदै उनले पछिल्लो समय विदेशी ब्यान्डबाजा भित्रिए पछि बाजाको माग घट्दै गएको बताए ।
सिलाइको काम गरेर जीविका चलाउनु पर्ने बाध्यता भएको बताउदै उनले मसक बाजाको धुनमा परम्परागत भाका, देवीदेउताका गाथा र सुख, दुःख र विरहका भाकाले बजाइने बाजाको धुन सुन्न मानिसको भिड लाग्ने गरेको सुनाए । दशरथचन्द नगरपालिका वडा नम्बर–६ का गोविन्दराज जोशीले अहिलेका विवाहमा मसक बाजा गुञ्जिन छाडेको बताए । छलिया बाजामा मसक बजाउँदाको रौनक बेग्लै हुने उनले स्मरण गरे ।
विवाह र शुभकार्यमा विदेशी बाजाको प्रयोग बढ्न थालेपछि मौलिक भाका समेत लोप हुने अवस्थामा पुगेको मेलौली बैतडीका देउडा कलाकार मनोहर परियारले बताए । आजभोलिका विवाहमा छलिया, हुड्को र मसक बाजाको प्रयोग घट्दै गएको उनले बताए । एउटा बाजा लोप हुनेबित्तिकै त्योसँग जोडिएका मौलिक भाका पनि सङ्कटमा पर्दै जाने उनले बताए । देउडा गीतका स्थानीय मौलिक भाका हिरा होटलैमा, झा वसन्ती घाँस काटिल्य, जस्ता मौलिक धुन हराइसकेको परियारले बताए ।
लामो स्वास तानेर हावाको थैलो भर्दै बजाउने सिप भएका मानिस मात्रै बाजा बजाउन सक्ने मनोहर परियारले बताए । यो बाजाको धुन घण्टौँसम्म निरन्तर बजिरहने खालको हुने भएकाले सबै मानिसले बजाउन नसक्ने उनले बताए । सुदूरपश्चिमका मौलिक बाजा हुड्को र मसक बाजाको संरक्षणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
स्थानीय भाषाको पाठ्यपुस्तकमा मौलिक बाजाको विशेषता समेटिनुपर्ने शिक्षा क्षेत्रका अगुवा गलिनाथ मावि, पुर्चौडीका प्रधानाध्यापक दिनेश नागारीले बताए । उनले मौलिक गीत, सङ्गीत र संस्कृतिको जगेर्ना गर्न स्थानीयस्तरमै सङ्ग्रहालय र कला केन्द्र स्थापना गरिनु पर्ने बताए ।


