चैत्र ०८ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन भएको महायज्ञबाट ५७ लाख ७३ हजार ६ सय ७९ रुपैयाँ दान संकलन भएको छ ।
खापरदेवस्थली माध्यमिक विद्यालयले २०८१ माघ १७ देखि २४ गते सम्म आयोजना गरेको जिउलेखी मष्टा ज्ञान विज्ञान धार्मिक महायज्ञबाट ५७ लाख ७३ हजार ६ सय ७९ रुपैयाँ दान संकलन भएको मूल आयोजक समारोह समितिले सार्वजनिक सुनुवाई मार्फत जानकारी गराएको हो ।
महायज्ञ मूल आयोजक समारोह समिति संयोजक हर्क बहादुर रावतले महायज्ञमा भएको आर्थिक आय व्यय तथा एकिन विवरण बुधवार विद्यालयमा स्थानीय, सरोकारवाला, जनप्रतिनिधि लगायतको सहभागीतामा सार्वजनिक सुनुवाई गरेर सार्वजनिक गरिएको जानकारी गराए । महायज्ञमा २५ लाख २१ हजार ७ सय ३१ रुपैयाँ जम्मा खर्च भएको जानकारी गराउदै उनले बैंक मौज्जात ७ लाख २१ हजार ९ सय ४५ रुपैयाँ रहेको बताए ।
त्यसैगरीै २५ लाख ३० हजार ३ रुपैयाँ विभिन्न व्यक्ति तथा स्थानीय तहहरुले दिने प्रतिवद्धता गरेको उनले जानकारी गराए । त्यसैगरी उक्त महायज्ञबाट संकलन भएको रकमले अक्षयकोष स्थापना गर्ने भनेर सल्लाह भए पनि एकिन निर्णय भने नभएको समितिले जानकारी गराएको छ ।
खापरदेवस्थली माविले समग्र विद्यालयको सर्वाङ्गीण विकास र जिउलेखी मष्टाको विकास तथा प्रचार प्रसारका लागि पहिलो पटक महायज्ञको आयोजना गरेको उनले बताए । उक्त महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि पुज्य सञ्जेल जी महाराजले महायज्ञ अवधिभर प्रवचन दिएको उनले जानकारी गराए ।


