चैत्र ०४ कञ्चनपुर । रानाथारूले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएको छ । घघँरिया, अँगिया, फतुई, उढनीया लगायत आकर्षक तरिकाले घरमै हातले बुनेका होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएका हुन । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ कसरौलकी ५५ वर्षीया सवदा रानाले होलीमा लगाउने परम्परागत गहना लोप हुँदै गएको बताईन ।
परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना गर्दै उनले त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको बताइन् । होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, हसुला, सकरगरेला लगाउने गरेको उनले सुनाईन ।
पाखुरामा लगौरा, नाडीमा पहुँची, औंलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गरेको उनले बताईन । गर्धनमा कण्ठ, गरिया र घिच्ची,‘टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यतिबेलाको समाजमा उच्च सम्मान गरिने गरेको उनले बताईन ।
त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रूपमा लिने गरिएको बताउदै उनले हाल ती गहना थोरै महिलासँग मात्र भएको बताईन । धेरैले आधुनिक बजारमा चलनचल्तीका गहना लगाउने कार्यले पुराना गहनाको महत्त्व घट्दै गएको उनले बताईन । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल भएको बताउदै उनले रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने चलन रहेको बताईन ।
त्यसैगरी पुराना पहिरन, गहना हराउँदै गएको रामदास रानाले बताए । पुरूषले लगाउने पुरानो पहिरन लगाउनै छाडेको बताउदै उनले जनचेतनामा जोड दिन थालिए पछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन सकिएको बताए । पहिरनमा आधुनिकताको छाप परेको बताउदै उनले’ रानाथारू समुदायले माघ शुक्ल पूर्णिमाका दिन देखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरेको बताए ।
प्रतीक स्थापना गरेको एक महिना सम्म रातिका बेला महिला पुरूषले भगवानका कथालाई होली गीतमा ढाल्दै गाउने गरिनुका साथै त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमा सम्म रहने उनले बताए । गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलिका पूर्णिमाको दिन दहन गरिने उनले बताए । एक महिनासम्म रातिका बेला खेलिनेलाई जिउँदो होली भन्ने गरिएको बताउदै उनले होलिका जलाएको भोलिपल्ट खरानीको टीका लगाउने चलन रहेको बताए ।
त्योभन्दा अगाडि टीका नलाग्ने चलन रानाथारू समुदायमा रहेको थारू अगुवा जगता रानाले बताए । त्यसै दिनदेखि आठ दिनसम्म मरेकी होली खेलिने बताउदै उनले आठौँ दिनको बेलुका खखडेहरा खेलिने बताए । होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिने बताउदै उनले खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्ने कार्य पनि गरिने बताए । फोड्ने काममा गाउँका अगुवा भलमन्सा, गुरूवा लगायत मात्र जाने चलन रहेको उनले बताए ।
यसो गरेपछि दुष्टआत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारू समुदायका बुढापाकाको रहेको उनले बताए । उनीहरुका अनुसार प्रतिमा फोरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नु हुँदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ । पुरूषको होली त्यसै बेला देखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ ।
होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरक फरक समयमा फरक फरक होलीका गीत गाइने गरिन्छ । होलीमा गीतको सुरूआत गर्ने (अगुवाइ गर्ने) महिलालाई मोढी भनिने उनले बताए । उनका अनुसार मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ ।
होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेको प्रति रानाथारू समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् । होली प्रत्येकको घरमा परम्परागत चलन अनुसार खेल्ने गरिन्छ । होलीमा सगुनका रूपमा गुड भेली दिने चलन रानाथारू समुदायमा छ । फगुवाका रूपमा पैसा दिने चलन पनि छ ।


