पौष २२ धनगढी । कैलालीमा नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका दजनौं नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर–२ का नगर कमिटी सदस्य लगायत ४६ जना संगठित सदस्यहरुले एमाले भएर बस्दा आफूहरु पटक पटक अपमानित हुनुपरेको भन्दै नगर कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएका छन ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएका उनीहरुले आपसी लडाईका कारण टिक्न नसकिने राजीनामा पत्रमा उल्लेख गरेका छन । एमालेमा बस्दा पटक–पटक पूर्व माओवादीको रुपमा अपहेलना गर्ने काम मात्र भएको बताईएको छ ।
अपहेलित भएर एमाले भित्र बस्न नसकिने भन्दै ४६ जना संगठित सदस्यले एकसाथ पार्टी परित्याग गरेका हुन् । एमाले भएर बस्दा राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिने भन्दै उनीहरुले एकसाथ पार्टी परित्याग गरेका हुन । संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन् ।
उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरण समेत गराएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने र उक्त क्षेत्रबाट प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए ।
बलायर निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार लेखराज भट्टलाई ३ हजार ५ सय ८४ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए ।