पौष १३ धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार सुशासनको पक्षमा नरहेको बताएका छन् । शनिबार कञ्चनपुरको पुनर्वासमा पार्टीले आयोजना गरेको भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचारी जोगाउन उद्यत रहेको बताए ।
बर्तमान सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत छ,’ प्रचण्डले भने, ‘बिचौैलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकार प्रति निराश छन् ।’ माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार विरुद्ध गतिविधि अघि बढाए पछि अत्तालिएकाहरुले सरकार ढलाएको प्रचण्डले बताए ।
मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको थियो । दलका ठुला नेता एवं ठुला कर्मचारी परेपछि सरकार ढालियो उनले भने ।’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले चीन र भारत भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै भारत र चीनसंग गरेको विद्युत व्यापार सम्झौता ऐतिहासिक भएको बताए ।
आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कञ्चनपुर सहित दार्चुलाको लिपुलेक सम्मको सीमा समस्याबारे स्पष्ट कुरा राखेको समेत उनले बताए । प्रचण्डले आफूले तीनपटक सरकारको नेतृत्व गर्दा सुदूरपश्चिम प्रदेशमा गौरबका आयोजना संचालन गरेको बताउदै दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुदूरपश्चिम विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फापला मैदान निर्माण सहितका योजना अघि बढाएको बताए ।
माओवादी केन्द्रले पुनः सरकारको नेतृत्व लिएर भ्रष्टाचार विरुद्ध थप अभियान छेड्ने बताउदै नेता प्रचण्डले गिरीबन्धु, वाइडबडी, ओम्नी लगायत सबै भ्रष्टाचार काण्डका फाइल खोल्ने प्रतिबद्धता जाहेर गरे । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाले देशभर माओवादी प्रति जनलहर बढेको बताउदै प्रचण्डले ०८४ सालको निर्वाचनमा माओबादी पार्टी एक नम्बरको पार्टी बन्ने बताए ।


