पौष ११ धनगढी । भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेको उनी निकट स्रोतले जानकारी गराएको छ । रावल नयाँ पार्टी खोल्ने छलफलमा रहेको र केही दिनमै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने रावल निकट एकिन्द्र कुँवरले जानकारी गराए ।
‘भीम रावल चलन चल्तीका कुनै पनि पार्टी प्रवेश गर्नु हुन्न । उहाँ आफ्नो विचार, सिद्धान्त बोकेर अघि बढ्नु हुन्छ,’ कुँवरले भने, ‘एक–दुई दिन भित्रै पत्रकार सम्मेलन मार्फत् धारणा र आगामी कार्यदिशा सार्वजनिक गर्नु हुन्छ । उहाँ त्यसैको तयारीमा हुनु हुन्छ ।’
पूर्व पार्टी उपाध्यक्ष समेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । २०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए । त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन ।
त्यसपछि एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनाएको थियो । सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति बनाइए पनि एक पटक छलफल गर्ने बाहेक त्यसले काम गर्न सकेन । २०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए । पार्टी कार्यालय च्यासलमा भएको त्यो भेटले रावल एमालेमा फर्किएर काम गर्ने वातावरण बनाएको थिएन ।


