मंसिर १९ धनगढी । सुदूरपश्चिम प्रदेश उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार रहेकोमा १३ जना उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचन कार्यालय सुदूरपश्चिमका अनुसार नेकपा (माओवादी केन्द्र) ले चार स्थानमा उम्मेदवार दिएकोमा तीन जनाको जमानत जफत भएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै जना उम्मेदवारको जमानत जफत भएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–६ मा अध्यक्षको उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जानकी कुमारी खड्का कुँवरको जमानत जफत भएको छ । उनले ३१ मत मात्रै प्राप्त गरेकी थिईन ।
त्यसैगरी पूर्वीचौकी गाउँपालिका वडा नम्बर–६ मा माओवादी केन्द्रका देवीलाल थापाको पनि जमानत जफत भएको छ । उनले २६ मत प्राप्त गरेका थिए । त्यसैगरी बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्करबहादुर बोहराको पनि जमानत जफत भएको छ । बोहराले १७ मत मात्रै ल्याएका थिए ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ मा स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत मात्रै प्राप्त गरेका थिए । उनको पनि जमानत जफत भएको छ । सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्क्बर–६ मा नौ जना उम्मेदवारको जमानत जफत भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का जितेन्द्रबहादुर चन्द, रास्वपाका रामदत्त भट्ट, स्वतन्त्र थानेश्वर लेखक, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौरा, माओवादी केन्द्रका नानाराम कोली, स्वतन्त्र युवराज चन्द, राप्रपा नेपालका दिलबहादुर धामी, नेमकिपाका दलबहादुर बोहरा र जनमत पार्टीका यादवबहादुर चन्दको जमानत जफत भएको हो । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्ने कानुनी प्रावधान रहेको छ ।


