मंसिर १७ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर–५ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन् ।
कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेकोे निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी गराए ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन ।
निर्वाचन अधिकृत पाण्डेले निर्वाचनमा १५ मत बदर भएको जानकारी गराए । उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदाता मध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको निर्वाचन अधिकृत पाण्डेले जानकारी गराए ।
दुहुँ गाउँपालीका वडा नम्बर–५ गरमोराको (क) केन्द्रमा २ सय १४ जना महिला र २ सय २३ जना पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २ सय ६२ जना महिला र १ सय ७८ जना पुरुष मतदानमा सहभागी भएको निर्वाचन अधिकृत पाण्डेले जानकारी गराए ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो ।