कार्तिक १९ धनगढी । सुदूरपश्चिम प्रदेशका रिक्त रहेका पालिका तहका ६ वटा पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजक गरी ६ वटा पदमा उपनिर्वाचन हुने भएको हो । पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो ।
त्यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–६, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–६, बझाङको सुर्मा गाउपालिका वडा नम्बर–४ र दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर–५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमदत्त भट्टले डोटीको पूर्वीचौकी गाउँपालीका वडा नम्बर–६ र कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएकाले उप निर्बाचन हुने बताए ।
त्यसैगरी बझाङको सुर्मा गाउँपालीका वडा नम्बर–४ र दार्चुलाको दुहु गाउँपालीका वडा नम्बर–५ मा नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्षको निधन भएकाले उप निर्बाचन हुने जानकारी गराए । उपनिर्वाचनका लागि यही कात्तिक २० गते सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको भट्टले जानकारी गराए । वडा तहको उपनिर्वाचनमा सम्बन्धित वडामै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी त्यहीँ मत परिणाम समेत घोषणा गर्ने गरी तयारी भइरहेको उनले जानकारी गराए ।
सुदूरपश्चिम प्रदेश सहित देशभर रिक्त रहेका पालिका तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष लगायत वडाध्यक्षको मङ्सिरमा उपनिर्वाचन हुने उनले जानकारी गराए । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्धारा रिक्त पदको पूर्ति गर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी गराए ।
त्यसैगरी रिक्त रहेको कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसले केशवराज पन्तलाई प्रत्यासी बनाउने भएको छ । कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले धनगढी उपमहानगरपालिका वडा नम्बर–२ को वडा सदस्य पदमा निर्वाचित पन्तलाई कैलाली जिल्ला समितिको संयोजक पदमा प्रदेश संसदीय समितिले प्रत्यासी बनाउने निर्णय गरेको जानकारी दिए ।
त्यसैगरी स्वामीकात्तिकखापर गाउँपालिका उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय भएको उक्त पार्टीले जानकारी गराएको छ । भीमदत्त नगरपालीका वडा नम्बर–६को वडाध्यक्षमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी गाउँपालीका वडा नम्बर–६ मा मोहन थापालाई प्रत्यासी बनाउने निर्णय गरेको रावतले जानकारी गराउदै अन्य ठाउँको उपनिर्वाचनका लागी प्रत्यासीको निर्णय हुन बाँकी रहेको बताए ।


