असार ०८ धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१÷८२ का लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २ सय २० रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औ नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी वर्षका लागि दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २ सय २० रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी गराएकी हुन ।
चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार १ सय १७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ । चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगततर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताइन् ।
विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँडबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तरसरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ ।
शुक्रबार बसेको नगरसभाको पहिलो बैठकमा नगर प्रमुख गोपाल हमालले अगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोस्रो बैठकमा उपप्रमुखले बजेट प्रस्तुत गरेकी थिईन । उप प्रमुख रानाले विषयगत योजना तथा कार्यक्रमका बारेमा भने जानकारी दिएकी छैनन् । नगरसभाबाट बजेट पारित भइसके पछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने उनले बताएकी थिईन ।


