असार ०२ धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, २०८१ अनुसार सुदूरपश्चिम प्रदेशको जम्मा बेरुजु रकम दुई अर्ब ६८ करोड २९ लाख रुपियाँ पुगेको हो । महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को ३९ अर्ब ४३ करोड ९८ लाख ९९ हजार रुपियाँ लेखापरीक्षण गरिएकोमा ३७ करोड ६३ लाख ९१ हजार रुपियाँ नयाँ बेरुजु देखिएको हो ।
अघिल्लो आर्थिक बर्षमा कुल दुई अर्ब ३८ करोड १९ लाख ६० हजार रुपैया बेरुजु रहेकोमा जसमध्ये प्रदेश सरकारले आठ करोड ५४ लाख २२ हजार रुपैयाँ समपरीक्षण गरेको थियो । समपरीक्षण पछि दुई अर्ब ३० करोड ६५ लाख ३८ हजार बेरुजु देखिए पनि ३७ करोड ६३ लाख ९१ हजार नयाँ बेरुजु थपिए पछि सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख पुगेको हो । पछिल्लो परीक्षण अनुसार देखिएको जम्मा बेरुजु मध्ये सरकारी कार्यालयको २७ करोड ६६ लाख ५१ हजार, समिति र अन्य संस्थाको नौ करोड ९७ लाख ४० हजार रुपैयाँ रहेको छ । कुल बेरुजु मध्ये असुल गर्नु पर्ने पाँच करोड ७३ लाख ६३ हजार, अनियमित भएको सात करोड ४३ लाख २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी प्रमाण कागजात पेस नभएको आठ करोड ९६ लाख ८८ हजार, शोधभर्ना नलिएको ९९ लाख ९५ हजार र पेस्की १४ करोड ५० लाख २० हजार रहेको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार प्रदेश सभा सचिवालयको १६ लाख ७२ हजार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक करोड २७ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ११ लाख ४३ हजार, आर्थिक मामिला मन्त्रालयको तीन लाख ६९ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चार करोड ३९ लाख २७ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यसैगरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दुई करोड ६२ लाख नौ हजार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १९ करोड ११ लाख ५८ हजार रुपैया बेरुजु रहेको छ । सामाजिक विकास मन्त्रालयको नौ करोड ९१ लाख ८१ हजार रुपैयाँ नयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७९ को दफा ३६ मा प्रत्येक कार्यालयले सबै प्रकारका आयव्यय तथा कारोबारको तोकिए बमोजिमको लेखा र वित्तीय विवरण पेस गरी महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण गराउनु पर्ने व्यवस्था गरिएको छ । महालेखाको प्रतिवेदनमा “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २ त र प्रदेशको यस सम्बन्धी कानुनमा प्रचलित कानुन बमोजिम पु¥याउनु पर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनि लेखापरीक्षण गर्दा औँल्याइएको वा ठह¥याइएको कारोबारलाई बेरुजुका रूपमा परिभाषित गरेको उल्लेख गरिएको छ ।


