नजेठ ३१ कञ्चनपुर । भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण कार्य सुरु गर्ने लक्ष्यका साथ प्राविधिकहरूको टोली वातावरणीय व्यवस्थापन योजना तयार गर्न निर्माणस्थलमा परिचालन गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले वन तथा वातावरण मन्त्रालयले वातावरणीय व्यवस्थापन योजना बनाउन पत्राचार गरेसँगै समितिबाट इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको जानकारी गराए ।
वन मन्त्रालयले पहिले स्वीकृत भएको इआइएलाई टेकेर फेरि वातावरणीय व्यवस्थापन योजना बनाउन भनेपछि टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित सहकार्य गरेर उक्त काममा खटिएको कार्यकारी निर्देशक गजुरेलले जानकारी गराए । हाम्रो गुरुयोजना भन्दा आकारमा सानो तर पर्याप्त हुने विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) भारतले बनाएको जानकारी गराउदै उनले आकारमा पहिले भन्दा सानो विस्तृत परियोजना प्रतिवेदन बनेकाले अब ४२ हेक्टरबाट घटेर २५ हेक्टरमा सुक्खा बन्दगाह निर्माण हुने जानकारी गराए । रुख कटान र जग्गा पनि प्रयोग कम हुने भएकाले पुनः वातावरणीय व्यवस्थापन योजना बनाउनु परेको उनले जानकारी गराए ।
वातावरणीय व्यवस्थापन योजना बनेपछि वन मन्त्रालयमा पेस गर्ने उनले जानकारी गराए । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सुक्खा बन्दरगाह निर्माणलाई समावेश गरिएको उनले जानकारी गराए । दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा निर्माण प्रस्ताव भएर विस्तृत परियोजना प्रतिवेदन समेत तयार भइसकेको सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिको विषय मन्त्रिपरिषद्बाट निर्णय गराउन बाँकी रहेको बताईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा भएको भारत भ्रमणका क्रममा दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धी द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

