जेठ २० धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ ।
प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिने देखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ ।
त्यसैगरीै सुदूरपश्चिम प्रदेशको राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको छ । प्रदेश प्रमुख मियाँले प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने बताएका छन । सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर–२ र ४ मा राख्ने निर्णय गरे पनि अहिले सम्म कुनै काम हुन सकेको छैन ।