जेठ ०३ दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी अभिभावकसँगै यार्सागुम्बा टिप्न लेकतिर गए पछि विद्यालय बन्द भएका छन । विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द भएका हुन । विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान गर्ने गरी विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले जानकारी गराए ।
विगतका दिनहरुमा पालिकाले विद्यालय बन्द गर्ने गरेको भए पनि यस वर्षदेखि यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको उनले जानकारी गराए । यार्सागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयले आफू अनुकूल निर्णय गरेको जानकारी गराउदै उनले अधिकांश विद्यालय बन्द भइसकेको बताए । बाँकी विद्यालय जेठ ४ गते सम्म बन्द गर्ने जानकारी प्राप्त भएको उनले बताए ।
अपि हिमालका विद्यार्थी, शिक्षक र अभिभावक यसबेला यार्सागुम्बा टिप्न लेकतिर जाने भएकाले जेठ १५ गते सम्मका लागि विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक जोशीले जानकारी गराए । अपि हिमालमा २४ वटा सामुदायिक विद्यालय रहेको जानकारी गराउदै उनले सबै विद्यालय बन्द हुने जानकारी गराए । त्यसैगरी स्थानीय बालकुमारी बोहोराले अन्य स्थानीय तहका विद्यार्थी समेत पढाइ छोडेर यार्सागुम्बा संकलनका लागी लेकतिर जाने गरेकाले अधिकांश गाउँ सुनसान भएको बताईन । स्थानीय सर्वसाधारण तथा विद्यार्थी यार्सा संकलन गर्न पाटन उक्लिए पछि गाउँ सुनसान भएको उनले बताईन ।
अपि हिमालको लोलु, रोखापु, रिङ्देपानी, रौन्याड, सतगङगा, चाइमटेला, कालीढुङगा लगायत पाटनमा यार्सागुम्बा संकलन हुने गरेको उनले जानकारी गराईन । यार्सा टिप्न सुरु भएसँगै अपि हिमाल, ब्यास, दुहुँ, मार्मा, नौगाड लगायत क्षेत्रका बासिन्दा पाटनमा पुगेको उनले बताईन । हिमाली क्षेत्रका बासिन्दाले एक महिना संकलन गरेको यार्सागुम्बा बिक्री गरेर वर्षभरिका लागी खर्चको जोहो गर्ने गरेको उनले जानकारी गराईन । गाउँबाट बाल–बालिका र वृद्धवृद्धा बाहेक सबैले खाद्यान्न र बन्दोबस्तीका सामान सहित लेकमै बसेर यार्सा संकलन गर्ने गरेको उनले जानकारी गराईन ।


