बैशाख २६ धनगढी । कैलालीको गोदावरी नगरपालिकाका स्थानीयले सडक निर्माणमा कमसल काम गर्ने ठेकेदारलाई लखटेका छन । बुधवार बिहान गोदावरी नगरपालिका वडा नम्बर– १ चेतना टोलमा निर्माण भई रहेको सडक कालोपत्रे गर्न कमसल काम भएकार्ले ठेकेदारलाई स्थानीयले लखेटेका हुन ।
स्थानीयले बेस निर्माणको काम मापदण्ड विपरीत भएको भन्दै ठेकेदारलाई काम रोक्न अनुरोध गर्दा पनि ठेकेदारले सबैतिर मिलाइसकेको भन्दै कालोपत्रेको तयारी गर्न थालेपछि स्थानीयले वडाका जनप्रतिनिधि बोलाएर काम रोक्न लगाएका छन । प्राविधिक सहित जनप्रतिनिधि पुगेपछि तताउँदै गरेको अलकत्रा छोडेर ठेकेदार र कामदार भागेको बताईएको छ । गुणस्तरहीन काम गरेको स्पष्ट देखिएकाले काम रोक्न भन्दा उल्टै ठेकेदारले थर्काएको स्थानीय चेतराज जोशीले बताए । सबै चेकजाँच गरेर पास भएको ठेकेदारले दाबी गरेपछि वडाका जनप्रतिनिधिलाई बोलाएको उनले बताए ।
उनले सडकको बेस नमिलाएर माटै माटो हालेर कालोपत्रे गर्न लागिएको बताए । वडाध्यक्ष गोपाल दत्त भट्टले मंगलवार आएका नगरका प्राविधिकले सडकको काम गुणस्तरीय नभएको भन्दै रोक्न लगाइसकेको भए पनि ठेकेदारले मनोमानी तरिकाले काम अगाडि बढाएको बताए । उनले नगरका इन्जिनियर जनक खड्काले राम्रो काम नभएको भन्दै ठेकेदारलाई पत्र पठाइसकेको भए पनि ठेकेदारले काम नरोके पछि आफै आएर काम रोक्न लगाएको बताए ।
उनले सडकमा होलीको रङ हालेजस्तो बेस हालेर गुणस्तरहीन काम भइरहेको बताए । ठेकेदारलाई काम रोक्न भनेपछि भागेको उनले बताए । वडा कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा २५ लाख बजेट विनियोजन गरेर सडक निर्माणको काम अगाडि बढाएको जानकारी गराउदै उनले गत वर्ष सकिनुपर्ने उक्त सडक चालु आर्थिक वर्षको अन्त्यमा कालोपत्रे गर्न थालिएको भए पनि गुणस्तहिन काम भएकाले राकीएको बताए । १२५ मिटरको उक्त सडक निर्माणका लागि काफली कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको बताउदै उनले सडकमा एकतर्फी नाला निर्माण गरिएको बताए ।
वडाकी सब–इन्जिनियर अनिता धामीले बेसको काम पिचको लागि उपयुक्त नभएको बताइन् । उनले काम गुणस्तरीय नभएकाले रोकेको बताइन् । उनले बेसको थिकनेस पुगे पनि इम्प्रेसन राम्रोसँग नभएको बताइन् । वडा सदस्य गम्भीर साउँदले ढिला भएको काम पनि गुणस्तरहीन भए पछि आफूहरूले काम रोक्न लगाएको बताए । उनले प्राविधिकहरूले पनि काम गुणस्तरहीन भएको भनिसकेकाले यसमा पुन रोलिङ गरेर काम गरिनु पर्ने बताए । उनले सडकको मापदण्ड अनुसार काम भए कुनै अवरोध नहुने बताए । उनले नालीको काम पनि उपयुक्त नभएको बताए ।