बेशाख १५ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शुभ कामना कृषि सहकारी संस्थाका बचकर्ताको रकम आफूले फिर्ता दिने घोषणा गरेका छन् । सरकारले सहकारीका बचकर्ताको बचत फिर्ताका लागि अध्यादेश ल्याउने तयारी गरे पछि मेयर लिम्बुले सहकारीको अध्यक्षको हैसियतमा सामाजिक सञ्जाल फेसबुकबाट सहकारीका सञ्चालकलाई जानकारी नदिएर आफूले बचत फिर्ता गर्ने घोषणा गरेका हुन् । मेयर लिम्बुले सहकारीमा आफ्नो लगानी समेत डुबेको र सहकारीका सञ्चालकहरुले पाँच वर्ष अघि सहकारी बन्द गराएको फेसबुक मार्फत जानकारी गराएका छन् ।
सहकारीमा नियम प्रक्रिया मिचेर अध्यक्षको निर्देशनमा मनपरी ऋण लगानी भए पछि बचकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द गरिएको थियो । सहकारी बन्द भए पछि लामो समयसम्म बचतकर्ताहरु रकम फिर्ताका लागि कार्यालय गुहार्दै आएका छन् । बचकर्ताले मेयर लिम्बु र सहकारीका तत्कालिन व्यवस्थापक मन्जु सुनारलाई पटक पटक गुहारेका थिए । मेयर लिम्बु र व्यवस्थापक सुनारले एकले अर्कोलाई देखाएर बचत फिर्ताका लागि आकाकानी गरेको सहकारीका एक जना पूर्व कर्मचारीले बताए । नियम प्रक्रिया नहेरी मनपरी गरी ऋण लगानी गरिएको र ऋण नउठे पछि सहकारी डुबेर बन्द हुने अवस्था आएको उनले बताए । त्यसपछि बचकर्ताले दैनिक कार्यालय धाउँदा अध्यक्षले व्यवस्थापक र व्यवस्थापकले अध्यक्षलाई देखाउँदै आनाकानी गरेको उनले सुनाए ।
सहकारीका सञ्चालकले मनपरी रुपमा ऋण लगानी गरी बचतकर्ताको रकम डुबाएको सहकारीका कर्मचारीहरुले बताएका छन । सहकारीले केही कर्मचारीलाई हालसम्म तलब पनि नदिएको बताइएको छ । सहकारीले दोधारा चाँदनी नगरपालिकाका सबै वडाबाट बचत संकलन गर्दै आएको र सहकारी बन्द भए पछि केही बचत कर्ताहरु आफैं बचत फिर्ताका लागि मेयर लिम्बुसम्म पुगेको बताइएको छ । उनले बचत फिर्ता गर्ने आश्वासन दिए पनि हालसम्म फिर्ता नभएको उनीहरुले बताएका छन । सहकारी बन्द भएपछि कतिपय बचतकर्ता घरमै आउन थालेको बचत संकलकहरुले बताएका छन । अध्यक्षलाई बचत फिर्ताका लागि भेटेर कुरा गरेको संकलकले बताएका छन । त्यतीखेर हुन्छ भने पनि अहिले सम्म बचत फिर्ता नभएको उनले सुनाए ।
सहकारीका अध्यक्ष सहित सञ्चालकको निर्देशनमा ऋण लगानी गरिएको भए पनि सहकारी बन्द भए पछि सञ्चालकहरुले व्यवस्थापकलाई रकम हिनामिनाको आरोप लगाएको उनीहरुले बताएका छन । मेयर लिम्बुको विद्यालय युनिक सनराइज स्कुलको प्रवेशद्वारमा कार्यालय राखेर सहकारी सञ्चालन गरिएको बताउदै उनीहरुले तीन वर्षसम्म सञ्चालन गरी सहकारी बन्द भएको जानकारी गराएका छन । बचकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द भए पछि लिम्बु दोधारा चाँदनीको मेयरमा चुुनाव लडेको र उनी चुनावमा पराजित भएको बताइएको छ । काँग्रेसले त्यहीं बेला स्थानीय तह निर्वाचनामा मेयर लिम्बु विरुद्ध सहकारी ठगीलाई चुनावी एजेण्डा बनाउने योजना बनाएको भए पनि सहज रुपमा चुनाव जितिने अवस्था भए पछि सहकारी ठगीलाई चुनावी एजेण्डा नबनाएको बताइएको छ ।
काँग्रेसका नेता बीर बहादुर सुनार मेयरमा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जाल फेसबुकमा पनि सहकारी ठगीको विषय उठाइएको र सहकारीका केही कर्मचारीले ठगीको विषय फेसबुकबाट सार्वजनिक गरेको बताइएको छ । मेयर लिम्बु २०७९ को स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित भएका हुन् । सहकारी स्थानीय सकारको क्षेत्राधिकार भित्र पर्ने भए पनि मेयर आफैं अध्यक्ष भएको शुभ कामना सहकारीका रेकर्ड भने नगरपालिका कार्यालयमा नभएको बताइएको छ । मेयर लिम्बुले शुक्रबार राति फेसबुकबाट सबै बचकर्ताको रकम फिर्ता भई सकेको दावी गरेका छन् ।
उनले बचतकर्ताको रकम तिर्न बाँकी भए तिर्ने कागज बनाउने कर्मचारीलाई थाह हुनु पर्ने र बचत फिर्ता गर्न बाँकी भए आफूले तिर्ने उल्लेख गरेका छन् । मन्त्रिपरिषद बैठकले केही दिन अघि सहकारी पीडितलाई बचत फिर्ता गराउन सञ्चालकहरूको सम्पत्ति बिक्री गर्ने लगायतको कानुनी अभाव रहेको भन्दै अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारले सहकारी सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरि सकेको छ ।



