बैशाख ११ बझाङ । बझाङको चैतली मेलामा ३७ हजार नक्कली नोटको कारोबार भएको पाइएको छ । सोमवार छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–३ बान्निचौरस्थित मष्टा मन्दिरमा लागेको चैतली मेलामा ३७ हजार नक्कली नोटको कारोबार भएको पाइएको हो । व्यापारीहरुले नक्कली नोट पाइएको भन्दै प्रहरीलाई बुझाएका थिए ।
छबिसपाथिभेरा गाउँपालीका वडा नम्बर–३ की जानकी बोहरा सहित १२ जना व्यापारीले पसल बन्द गरी पैसा गन्दा नक्कली नोट भेटाए पछि जिल्ला प्रहरी कार्यालय बझाङमा बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी गराए । उनले एक हजार दरका ३७ हजार नक्कली नोटहरु लिखित निवेदन सहित प्रहरीमा बुझाइएको जानकारी गराए ।
नक्कली नोटहरु कहाँबाट आए,कसले दिए भन्ने विषयमा व्यापारीहरुलाई पनि थाहा नभएको उनले बताए । मेलामा भिडभाडमा कसले नक्कली पैसा ल्यायो दियो, ख्यालै गर्न सकिएन होला, पछि साँझ पसल बन्द गरेर पैसा गन्दा मात्रै नक्कली नोट हुन् कि भन्ने शंका लागेर प्रहरीलाई बुझाए, हामी यो विषयमा अनुसन्धान गरी रहेका छौ उनले भने । सूचना अधिकारी चौधरीले नक्कली नोटका विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी गराए ।


