बैशाख १० धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८ अर्ब ५६ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको कैलाली भन्सार कार्यालयले ५ अर्ब ७३ करोड ४३ लाख राजस्व संकलन गरेरे लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको हो ।
भन्सार महसुलतर्फ २ अर्ब १८ करोड ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ३३ करोड एक लाख, अन्त शुल्कतर्फ १५ करोड ६ लाख र अन्यतर्फ १ अर्ब ६ करोड ५१ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जानकारी गराएको छ । चालु आर्थिक वर्षमा भन्सार कार्यालयले ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
९ महिनाको अवधिमा लक्ष्य प्राप्त गर्न नसकेको भन्सार कार्यालयले चालु आर्थिक बर्षको अन्त सम्म पनि लक्ष्य प्राप्त गर्न नसक्ने देखिएको छ । भन्सार कार्यालयले गत आर्थिक बर्षमा पनि लक्ष्य प्राप्त गर्न सकेको थिएन । गत आर्थिक बर्षमा १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।


