चैत्र २२ धनगढी । सहकारी ठगीको आरोपमा एक जना महिला सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–४ राजीपुरमा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष चन्द्र प्रकाश सापकोटा र क्यासियर देवकी कुमारी जोशीलाई प्रहीले पक्राउ गरेको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेती सहितको टोलीले पक्राउ गरेको जानकारी गराईएको छ । राधाकृषण बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष सापकोटा, व्यवस्थापक जितनारायण आर्चाय, क्यासियर जोशी लगाएतको मिलोमतोमा सात लाख ८० हजार ठगस् गरिएको आरोप लागेको छ ।
आर्चायले सात लाखको चेक, ऋणीले फोन पे मार्फत तिरेको ७५ हजार रकम र एक जना ऋणीलाई व्याजमा पाँच हजार छुट दिएर फरार भएका थिए । सात लाखको चेक सहकारीका क्यासियर जोशीको नाममा काटिएकाले उनलाई पनि पक्राउ गरिएको बताईएको छ । सहकारीका व्यवस्थापक आर्चायले गत वर्षको फागुन ३ गते राजीनामा दिएका थिए । तर, उनले फागुन महिनाको २७ दिन र चैत महिनाको तलब समेत बुझिसकेको पाइएको छ । उनी एक वर्षदेखि फरार रहेका छन् ।
सहकारीको छानबिन समितिको प्रतिवेदनमा उक्त रकम पनि फिर्ता हुनु पर्ने उल्लेख गरिएको छ । पाँच हजार व्याजमा छुट दिनुको कारण समेत प्रतिवेदनले माग गरेको छ । तर, व्यवस्थापक आर्चायले फोन बन्द गरेका छन् । राधाकृष्ण बचत तथा ऋण सहकारीको १० करोड बढी पूँजी रहेको छ । सहकारी व्यवस्थापकले काउण्टरमा रकम बुझाएको दाबी गर्दै आए पनि काउण्टरमा रकम जम्मा नभएको सहकारीले जनाएको छ ।


