पौष २९ धनगढी । कैलालीको धनगढीमा सर्वाधिक धनराशिको प्रादेशिक खुल्ला डेउडा प्रतियोगिता आयोजना गरिने भएको छ । देउडा प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको आयोजनामा आगामी माघ २०, २१ र २२ गते धनगढी स्थित साहित्य समाजको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिने भएको हो ।
शुक्रबार धनगढीमा अयोजीत पत्रकार सम्मेलनमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष सुरत रावत ‘डोटेली कान्छाले आगामी माघमा प्रदेश स्तरकै सर्वाधिक धनराशिको देउडा प्रतियोगिता आयोजना गरिने बताएका हुन । उनले माघ २०, २१ र २२ गते तीन दिनसम्म प्रतियोगिताको आयोजना गरिने जानकारी गराए ।
उक्त तियोगिताका लागि पौष ३० गतेबाट समूह दर्ता खुला गरिने समेत उनले जानकारी गराए । प्रतियोगितामा सबै जिल्लाबाट एक समूह अनिवार्य सहभागी गराइने र त्यस भन्दा बढी समूहको सहभागिता समेत हुनसक्ने आयोजकले जानकारी गराएको छ ।
देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा यसको प्रचार प्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको रावतले बताए । प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगद सहित प्रमाणपत्र, द्वितीयलाई ४० हजार, तृतीयलाई ३० हजार र सान्त्वना पुरुषकार २० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जानकारी गराए ।
साथै प्रत्येक दिन प्रतियोगितामा सहभागी मध्ये एक जना देउडियालाई नगद १ हजार सहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले जानकारी गराए ।



