पौष २७ धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्य मध्ये २९ जना सांसदको हस्ताक्षर सहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्ने भए पनि रावललाई माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना र राप्रपाका एकजना प्रदेशसभा गरी २९ जना सदस्यले समर्थन गरेका छन् ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ । प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई÷दुई वर्ष गर्ने सहमति भएको छ ।
नागरिक उन्मुक्ति पार्टीले निर्णय लिन ढिलाई गर्दा प्रदेश प्रमुखले तोकेको अन्तिम समयमा रावलले मुख्यमन्त्रीमा आफ्नो दावी पेश गरेका थिए । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा रावललाई अन्तिम समयमा समर्थन गरे पछि रावल मुख्य मन्त्रीमा नियुक्त भएका हुन । पार्टीका संस्थापक रेशमलाल चौधरीसँग भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले समर्थन गरेको जानकारी गराए ।
उनले केन्द्रमा जेलमा रहेका रेशम चौधरी र माओवादी केन्द्र बीच वार्ता भइरहेकाले निर्णय आउन ढिलाई भएको बताए । माओवादीबाट कमिटमेन्ट आउन ढिलाई भएका कारण ढीला भएको बताउदै उनले माघ महिना भित्रमा टीकापुर घटनामा लगाईएका झुटा मुद्धा अध्यादेश वा कुनै विधेयक ल्याएर सामाधान गर्ने सहमती भएको जानकारी गराए ।



