माघ ०३ काठमाडौं । सुदूरपश्चिम प्रदेशको सभामुखमा भीम भण्डारी निर्वाचित भएका छन । तीन पटकको मतदान पछि आज भएको सभामुखको निर्बाचनमा भण्डारी निर्बाचित भएका हुन ।
आज भएको मतदानमा भण्डारीले २९ मत पाउँदा नेपाली कांग्रेसका मानबहादुर रावलले २० मत पाए। आज ५२ जना सांसदले मतदानमा भाग लिएका थिए।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निवार्चित हुन २७ मत आवश्यक थियो । तर, यस अघि प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन सकेको थिएन । आजको बैठकमा भने नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दललाई मत दिने निर्णय गरेको थियो।
संविधानले दिएको समय सीमा हिजै सकिए पनि पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले देशभर शोक बिदा दिइएको थियो। सोही कारणले आज बैठक भएको हो।
संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र उपसभामुख चयन गर्नु पर्ने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो।


