बैशाख ०४ बैतडी । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन अवस्थामा रहेका छन् । सब इलाका सेवा कार्यालय सेन्टरका भवन, मनोरञ्जन पार्क, सामुदायिक भवन, विभिन्न स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्र सहितका सरकारी भवन र संरचना प्रयोगविहीन अवस्थामा रहेका हुन । कृषि र पशु सम्बन्धी सेवा दिन बनाइएका गाँजरी सब सेन्टर, मेलौली, पुर्चौडीमा रहेका भवन प्रयोग विहीन अबश्थामा रहेका छन ।
त्यसैगरी दुई करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको पाटन नगरपालिका स्थित हिरापुर मनोरञ्जन पार्कका संरचना पनि प्रयोगविहीन अवस्थामा रहेका छन् । सिगास गाउँपालिका वडा नम्बर–२, गाँजरीस्थित अर्जुन माध्यामीक विद्यालयको आठ कोठे भवन प्रयोगमा नआउँदा जीर्ण बनेको छ । ठेकेदारले भवन निर्माण गरेर विद्यालयलाई हन्तान्तरण नगर्दा अलपत्र परेको छ । जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले भवनको अनुगमन गर्दा उपयोगमा नआउँदै जीर्ण बनेको बताए ।
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले अलपत्र छाडिएका भवनको अनुगमन गरेर सुदूरपश्चिम प्रदेश सरकारलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको बताए । बजेट सक्नकै लागि निर्माण गरिएका भवन उपयोग हुन नसकेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा पाटन नगरपालिका वडा न्मबर–९, ज्याफुमा निर्माण भएको १० वटा सटरको चिस्यान केन्द्रको भवन बर्र्षेौैंदेखि प्रयोगमा नआउदा अलपत्र परेको उनले बताए ।
गाँजरीका सब सेन्टरका भवन पनि अलपत्र परेको बताउदै उनले भवनको अवस्था हेर्दा बजेट दुरुपयोग भएको देखिएको बताए । पाटन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हरिश विष्टले खोड्पे क्षेत्रमा मात्रै दुई वटा चिस्यान केन्द्र र एउटा तरकारी सङ्कलन केन्द्रको भवन अलपत्र परेको बताए ।
जिल्ला समन्वय समितिको टोलीले पाटन नगरपालिका, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाको अनुगन गरेर अलपत्र पारिएका भवनको प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई बुझाएको भए पनि कुनै सुनुवाइ नभएको उनले बताए । जिल्ला समन्वय समितिले १० वटै स्थानीय तहको अनुगमन गरेर अलपत्र पारिएका भवनको तथ्याङ्क सङ्कलन गरी भवनको उचित प्रयोगका लागि पहल गरीरहेको उनले जानकारी गराए ।
अलपत्र पारिएका भवनको सङ्ख्या स्थानीय तहले उपलब्ध नगराए पछि समन्वयको टोली आफैँ अनुगमनमा निस्किएको उनले बताए । समन्वय समितिको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाका १० वटै स्थानीय तहका विभिन्न ठाउँमा ५० भन्दा बढी करोडौँ रुपैयाँ खर्च गरेर बनेका भौतिक संरचना अलपत्र परेको समन्वय समितिका प्रमुख धामीले बताए । अधिकांश संरचना उपभोक्त समिति मार्फत बनाइएको पाइएको उनले जानकारी गरुाएका छन ।


