बैशाख ०४ कञ्चनपुर । कञ्चनपुर प्रहरीले गत वर्ष लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३ सय ३४ जनालाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको छ । गत वर्षको वैशाख देखि चैत मसान्त सम्मको अवधिमा ३ सय ५ जना पुरुष र २९ जना महिला गरी ३ सय ३४ जनालाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले उक्त अवधिमा प्रहरीले ७ सय ५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३ सय ६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत लागुऔषध बरामद गरेको बताए । ‘गएको वर्ष लागुऔषधमा २ सय १ वटा मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्ेको बताउदै प्रहरी उपरीक्षक खत्रीले कारबाही र सचेतनाका लागि अभियान पनि सञ्चालन गरेको बताए ।
पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको बताउदै उनले त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार २०८२ साल वैशाखमा २२ जनालाई लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेको उनले बताए ।
त्यसैगरी जेठ महिनामा ४० जना, असारमा २० जना,साउनमा १६ जना, भदौमा १६ जना, असोजमा ११ जना, कात्तिकमा २९ जना, मङ्सिरमा २३ जना, पुसमा १८ जना, माघमा ४९ जना, फागुनमा ४१ जना र चैत महिनामा ४५ जनालाई पक्राउ गरिएको उनले जानकारी गराए ।
खुला सीमानाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको बताउदै उनले पछिल्लो समय नेपाल–भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी गराए । कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेको उनले जानकारी गराए ।


