बैशाख ०४ धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख खाद्यान्न बाली गहुँको उत्पादन घट्दै गएपछि किसान निरुत्साहित भएका छन । तराई क्षेत्रमा गहुँको उत्पादन घट्दै गएपछि किसान निरुत्साहित भएका हुन । गत आर्थिक वर्ष २०८१÷०८२ को तथ्यांक अनुसार प्रदेशभरी १ लाख ३२ हजार ७ सय ४५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा कुल उत्पादन ३ लाख ४० हजार १ सय १४ मेट्रिक टन रहेको छ । प्रदेशको औसत उत्पादकत्व २ दशमलव ५६ टन प्रतिहेक्टर मात्रै रहेको छ, जुन अपेक्षाकृत रुपमा न्यून मानिन्छ । कैलालीमा सबैभन्दा बढी उत्पादकत्व देखिएको छ ।
३८ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा खेती भई १ लाख ३० हजार १ सय १४ मेट्रिक टन उत्पादन भएको छ । यहाँ प्रतिहेक्टर उत्पादकत्व ३ दशमलव ३५ टन पुगेको छ । कञ्चनपुरमा ३१ हजार २ सय १० हेक्टरमा खेती भई १ लाख ३ हजार ९ सय २९ मेट्रिक टन उत्पादन हुँदा उत्पादकत्व ३ दशमलव ३३ टन प्रतिहेक्टर रहेको छ । तर पहाडी जिल्लाहरूमा अवस्था निकै कमजोर रहेको छ ।
पहाडी जिल्ला मध्ये डडेलधुरामा तुलनात्मक रूपमा बढी उत्पादकत्व देखिन्छ । यहाँ ७ हजार ६ सय हेक्टर क्षेत्रफलमा १५ हजार ४ सय ८० मेट्रिक टन उत्पादन भई २ दशमलव ०४ टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ । त्यसपछि दार्चुलामा ५ हजार ९ सय ५५ हेक्टरमा ११ हजार ४ सय १५ मेट्रिक टन उत्पादन भई १ दशमलव ९२ टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
बझाङमा ९ हजार ३ सय ६५ हेक्टरमा १७ हजार ७ सय मेट्रिक टन उत्पादन हुँदा उत्पादकत्व १ दशमलव ८९ टन प्रतिहेक्टर रहेको छ । अछाममा १० हजार ७ सय हेक्टर क्षेत्रफलमा १७ हजार २ सय ३१ मेट्रिक टन उत्पादन हुँदा उत्पादकत्व १ दशमलव १.६१ टन प्रतिहेक्टर रहेको छ । बैतडीमा १२ हजार ३ सय ९० हेक्टरमा १९ हजार ८ सय २४ मेट्रिक टन उत्पादन हुँदा उत्पादकत्व १ दशमलव १.६० टन प्रतिहेक्टर रहेको छ ।
बाजुरामा ६ हजार ४ सय हेक्टरमा ९ हजार ९ सय २० मेट्रिक टन उत्पादन भई १ दशमलव ५५ टन प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।
सबैभन्दा कम उत्पादकत्व डोटी जिल्लामा देखिएको छ । यहाँ १० हजार २ सय ८५ हेक्टर क्षेत्रफलमा १४ हजार ५ सय २ मेट्रिक टन उत्पादन हुँदा प्रतिहेक्टर उत्पादकत्व १ दशमलव १ं.४१ टन मात्रै रहेको छ, जुन प्रदेशकै न्यूनतम मध्ये रहेको छ । विज्ञहरूका अनुसार पहाडी जिल्लाहरूमा रुखो जमिन, सिँचाइ अभाव, पर्याप्त मलखाद नपाउनु तथा परम्परागत खेती प्रणाली कम उत्पादनका मुख्य कारण हुन् ।
साथै वन्यजन्तुबाट हुने क्षतिले किसान थप मारमा परेका छन् । तराई क्षेत्रमा उत्पादन राम्रो भए पनि किसानहरूको निराशा बढ्दो छ । कञ्चनपुरकी किसान बिनु चौधरीले गहुँ खेतीमा लागत धेरै लाग्ने बताउदै उत्पादन त्यति नहुँने बताईन । मल, बीउ र मजदुरी सबै महँगो भएको बताउदै उनले त्यसैले गहुँबाट नाफा कम भएर अन्य बालीतर्फ जान बाध्य भएको बताए । अर्की किसान फूलमती रानाले पनि समयमै मल नपाइने र सिँचाइको समस्या भएको बताए । मिहनेत धेरै गर्दा पनि आम्दानी नहुँदा गहुँ खेतीप्रति रुचि घट्दै गएको उनले बताईन ।
कञ्चनपुरकै किसान सुरेश चौधरीका अनुसार आधुनिक कृषि उपकरण प्रयोग गर्ने किसानले केही सहजता पाएका छन् । मेसिन प्रयोग गर्दा काम छिटो र सजिलो हुने बताउदै उनले उत्पादन पनि बढने भए पनि सबै किसानसँग यस्तो सुविधा नभएको बताए । सरकारले साना किसान सम्म प्रविधि पु¥याउनु पर्ने उनले बताए । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चिनी उद्योग सञ्चालनमा आएपछि पछिल्लो एक दशकयता किसानहरू उखु खेतीतर्फ आकर्षित भएकोउनले बताए ।
नेपाल किसान महासंघ सुदूरपश्चिमका अध्यक्ष हरेन्द्रसिंह बिष्टले उखु खेतीमा बजार सुनिश्चित भएकाले किसानहरू गहुँ छोडेर त्यसतर्फ लागेको बताए । कञ्चनपुरको दक्षिणी क्षेत्रमा दुइ वटा ठूला चिनी उद्योग सञ्चालनमा रहेको बताउदै उनले कैलाली र बर्दियामा समेत चिनी उद्योग विस्तार हुने क्रममा रहेकाले आगामी दिनमा गहुँ खेती अझै घट्ने सम्भावना देखिएको बताए । प्रदेश सरकारले कृषिको आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउ प्रवद्र्धन तथा यान्त्रीकरणलाई प्राथमिकता दिएको उनले बताए ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सिँचाइ पूर्वाधार विस्तार, अनुदानमा कृषि उपकरण वितरण, उन्नत बीउ उपलब्ध गराउने तथा किसानलाई तालिम दिने कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । गहुँ, धान लगायतका खाद्यान्न बाली उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम अघि सारिएको उनले बताए ।
त्यसैगरी संघीय सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ निर्धारण गरेको छ । जुन गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी हो । कृषि प्राविधिकहरुका अनुसार उत्पादन क्षेत्र ठूलो भए पनि उत्पादकत्व कम हुनु सुदूरपश्चिमको मुख्य चुनौती हो । समयमै सिँचाइ, मलखाद र आधुनिक प्रविधिको पहुँच विस्तार गर्न नसके गहुँ उत्पादन अझै घट्ने जोखिम रहेको छ ।


