बैशाख ०४ बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे १ बजे सुर्नया गाउँपालिका वड नम्बर–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडक खण्डमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएको हुन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले श्रीभावर देखि पुर्चौडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी सुर्नया गाउँपालीका वडा नम्बर–८ का ३४ वर्षीय जनक लुहारको मृत्यु भएको बताए ।
लुहार मोटरसाइकलका चालक समेत रहेको प्रहरी निरीक्षक सिंहले जानकारी गराए । दुर्घटनामा पुर्चाैडी नगरपालीका वडा नम्बर–५ का २४ वर्षीय अमिर कडायत, सोही वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका वडा नम्बर–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको प्रहरीले जानकारी गराएको छ ।
घाइतेमध्ये अमिर र हिक्मतको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ । प्रहरीका अनुसार अमिरको अवस्था मध्यम छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।


