बैशाख ०४ कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्ष देखि हराएको छोराको खबर पाए पछि शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१२ का डम्बर बहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समय देखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाए पछि परिवारमा खुसीयाली छाएको हो । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए ।
त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन । समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेको थिएन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो ।
भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उनले आफू कञ्चनपुरको देखतभूलीको दीपक (दीपु) नेगी भएको बताएका थिए । त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्था सहितको भिडियो फेसबुकमा अपलोड गरेका थिए ।
उक्त भिडियो सामाजिक सञ्जाल मार्फत फैलिँदै नेगी परिवार सम्म पुगेको थियो । प्रहरी मार्फत सूचना वडा कार्यालय सम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोन मार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ । मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू खुसी भएका छन ।
दीपकका बुबा डम्बरबहादुर नेगीले एकछिन त विश्वास गर्न नसकेको बताउदै भगवानले आएर खबर सुनाए जस्तो भएको बताए । धेरै वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाए जस्तै भएको उनले बताए । आमा मानमती नेगीका लागि पनि त्यो क्षण अत्यन्त भावुक बनेको छ । पहिले विश्वास नै नलागेको बताउदै उनले पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने थाहा पाएको बताईन ।
खुसीले बोल्न नसकेको बताउदै उनले आँसुमात्रै आएको बताईन । अब छोरा भेट्ने बेचैनी बढ्दै जान थालेको यनले बताईन । परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनका बाबजुद गरिएको सहयोग प्रति परिवारले आभार व्यक्त गरेको छ ।
हाल नेगी परिवार र दीपकबीच फेसबुक भिडियो कल मार्फत नियमित सम्पर्क भइरहेको छ । लामो समय पछि छोरासँग कुरा गर्दा अझै पनि विश्वास गर्न गाह्रो भइरहेको परिवारले बताएका छन । बुबा डम्बरबहादुरले फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिने गरेको बताए । अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिने उनले बताए । छत्तीस वर्षीय दीपकलाई घर फर्काउने तयारी पनि सुरु गरिएको छ ।
दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले परिवार आवश्यक स्रोत जुटाउने कार्यमा लागेको छ । आफन्तसँग सरसापट र कर्जा मागेर भए पनि दीपकलाई ल्याउनका लागि तयारी गरिएको छ । हाल दिल्लीमा कार्यरत दीपकका दाजु र भाउजुले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उनलाई घर ल्याउने योजना बनाइरहेका छन् । परिवारले ल्याउनका लागि अब ढिलाइ नगर्ने जनाएको छ ।
वडाध्यक्ष नवलसिंह रानाले प्रहरी मार्फत सूचना प्राप्त भएपछि परिवारलाई जानकारी गराइएको र भारतस्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको बताए । फेसबुककै कारण वर्षौँ देखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग भएको उनले बताए ।
नेगी परिवारका छिमेकी वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियो मार्फत दीपक जीवित रहेको थाहा पाउँदा गाउँभरि खुसी छाएको बताए । नेगी परिवारका तीन छोरा मध्ये दीपक माइला हुन् । जेठो र कान्छो छोरा भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन् ।


