जेठ २३ टीकापुर । कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वार लगायतका संरचना निर्माणको काम अझै सकिएको छैन । नगरपालिकाले एक बर्षमा काम सक्ने गरी २०७६ असार ३ गते निर्माण कम्पनीलाई ठेक्का दिएको भए पनि ठेक्का पाएको कर्णाली निर्माण सेवाले काम सुरुआत गरेको तीन वर्ष पूरा हुँदा समेत निर्माणको काम सम्पन्न गर्न नसकेको हो । सम्झौतामा नगरपालिकाले २०७७ असार मसान्त सम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने गरी ुसम्झौता गरेको भए पनि अहिलेसम्म काम सम्पन्न नहुँदा नगरपालिकाले तीन पटक म्याद थप गरिसकेको छ ।
निर्माण कम्पनीले नगरपालिकाको भित्री परिसरमा माटो पटानी, ग्राभेल हाल्ने काम सम्पन्न गरेको भने पनि अझै कैयौँ ठाउँमा खाल्डाखुल्डी रहेका छन् । घेरा पर्खालको काम पनि पूर्णरुपमा सम्पन्न भएको छैन । दुई वटा प्रवेशद्वार निर्माण गर्नुपर्ने भए पनि एउटा प्रवेशद्वारको काम भइरहेको छ । पश्चिम तिरको प्रवेशद्वार निर्माणको काम सुरु भए पनि दक्षिणतिरको प्रवेशद्वार निर्माणको अझै टुङ्गो लागेको छैन ।
नगरपालिकाले रु ७५ लाखको ठेक्का सूचना निकालेको उक्त ठेक्का निर्माण कम्पनीले ५५ लाख ४० हजार ८ सय ७६ रुपैयाँ १३ पैसामा पाएको थियो । सम्झौताको सयमा काम सम्पन्न नहुँदा नगरपालिकाले २०७७ चैत मसान्त सम्मका लागि ठेक्काको म्याद थपेको योजना शाखा प्रमुख नवराज जोशीले जानकारी दिए । त्यो समयावधिमा पनि काम नसकिएपछि पुनः २०७८ पुस मसान्तसम्म म्याद थप भएको थियो ।
अहिले आयोजनाको म्याद सकिएको पनि पाँच महिना भइसकेको छ । मौखिकरुपमा जानकारी गराउँदा कार्यान्वयन नभए पछि “नगरपालिकाबाट काम छिटो सम्पन्न गर्न ताकेता पत्र समेत पठाइसकेको जानकारी गराउदै योजना शाखा प्रमुख जोशीले अहिले काम गरिरहेको बताए । प्रवेशद्वार निर्माणको काम भइरहेको छ ,फेरी कतिसम्म लाग्ने हो योजना शाखा प्रमुख जोशीले भन्नु भयो ।
निर्माण कम्पनीलाई नगरपालिकाबाट हालसम्म रु २२ लाख ५२ हजार भुक्तानी भइसकेको छ । नगर उप प्रमुख खडकबहादुर शाहले नगरपालिकाका इन्जिनियरहरुले कामको गुणस्तर र समयमै काम सम्पन्न नभए त्यसको जवाफ दिनु पर्ने बताउनु भयो ।
निर्माण कम्पनीका सञ्चालक नरबहादुर ठकुल्लाले सम्झौता नै आर्थिक वर्षको अन्तिममा भएको जनाउँदै कोरोनाको कारण पनि कामका ढिलाइ भएको बताएका छन् । उनले अन्तिम पटक नगरपालिकालाई आयोजनाको म्याद थपका लागि पत्र पठाएको र मङ्सिरसम्म काम सम्पन्न गर्ने बताएका छन ।


