बैशाख १६ धनगढी । कैलालीको अत्तरियामा महोत्सवका लागि निर्माण गरिएको खुला मैदान संरक्षणको अभावमा अलपत्र परेको छ । गत वर्ष न्यु सृजनशील युवा क्लबले आयोजना गरेको सृजनशील गोदावरी महोत्सवका लागि तयार पारिएको उक्त मैदान संरक्षणको अभावमा अलपत्र परेको हो ।
पुस ९ गते देखि २१ गतेसम्म सञ्चालन गरिएको महोत्सवका लागि निर्माण गरिएको मैदान हाल ढल निकासको नाला, छाडा चौपाया र मगन्तेको बसोबास स्थलमा परिणत भएको छ । चारैतिर खुला रहेको मैदानमा छाडा पशुचौपायाले आश्रय लिने गरेका छन् भने भारतबाट आएका मगन्तेहरूले टेन्ट टाँगेर बसोबास गरिरहेका छन् ।
अत्तरिया चोकको पानी निकासका लागि निर्माणाधीन नाला पनि सोही मैदानको छेउसम्म ल्याइएको छ । बाँकी भागमा अस्थायी रूपमा कच्ची नाला खनिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्माण गरिरहेको उक्त नाला सडक अतिक्रमण गरेर बनाइएका संरचना जोगाउँदै वन क्षेत्रतर्फ मोडिएको स्थानीयले गुनासो गरेका छन् ।
साइड इन्जिनियर प्रकाश खड्काले तत्काल अतिक्रमण हटाउन कठिन भएकाले वैकल्पिक रूपमा वन क्षेत्रमा पर्ने भागमा नाला निर्माण गरिएको बताए । स्थायी नाला निर्माणका क्रममा अतिक्रमित संरचना हटाइने उनले बताए । उक्त मैदानमा केही व्यक्तिले अलपत्र अवस्थामा रहेको भवनमा समेत बसोबास गर्दै आएका छन् ।
यसले मैदानको स्वरूप झन् बिग्रिएको स्थानीयले बताएका छन । सुरक्षा सामुदायिक वन क्षेत्रमा पर्ने खाली जग्गा सम्याएर निर्माण गरिएको उक्त मैदानलाई अत्तरियाको सम्भावित खुला मञ्चका रूपमा लिइएको भए पनि महोत्सव सम्पन्न भएपछि सम्बन्धित निकायले संरक्षणमा चासो नदेखाउदा मैदान अलपत्र परेको हो ।
न्यु सृजनशील युवा क्लबका सदस्य विक्रम विष्टले महोत्सव पछि मैदानलाई खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि व्यवस्थित गर्ने योजना बनाइएको बताउदै डिभिजन वन कार्यालयले थप संरचना निर्माणमा अवरोध गरेपछि योजना अघि बढ्न नसकेको बताए ।
अत्तरियामा सार्वजनिक कार्यक्रम सञ्चालनका लागि उपयुक्त स्थानको अभाव रहँदै आएको अबश्थामा उक्त मैदानलाई खुला मञ्चका रूपमा विकास गर्नुपर्ने माग उठ्दै आएको बताउदै उनले संरक्षणको अभाव र अव्यवस्थित प्रयोगले मैदान अलपत्र परेको बताए । त्यसैगरी स्थानीयले सम्बन्धित निकायसँग मैदानको संरक्षण, व्यवस्थापन र दीर्घकालीन प्रयोगका लागि स्पष्ट योजना ल्याउन माग गरेका छन् ।


