बैशाख २५ धनगढी । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । विभागले शुक्रबार ललितपुरमा कार्यक्रमको आयोजना गरी यस वर्षको मनसुन अबधीमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । त्यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने विभागले जानकारी गराएको हो । कार्यक्रममा मौसमविद सुदर्शन हुमागाईंले दिएको जानकारी अनुसार देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ ।
यद्यपि यो विभिन्न भेगमा फरक–फरक रहेको छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण गरिएको छ । कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ । यो प्रक्षेपण आगामी जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिको हो । यही अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत सम्म रहेको छ । मौसमविद हुमागाईंका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तर–पूर्वी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशका उत्तर–पूर्वी तथा दक्षिणी भूभाग, बागमती प्रदेशका पश्चिमी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत सम्म रहेको छ ।
त्यसैगरी कोशी प्रदेशका मध्ये भूभाग तथा सुदूरपश्चिम प्रदेशका पूर्वी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको अनुमान छ । न्यूनतम तापक्रम पनि सरदर भन्दा बढी हुने सम्भावना स्थान विशेष अनुसार फरक फरक रहेको छ ।
विभागले यो प्रक्षेपण विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आकलन र दक्षिण एसियाली जलवायु फोरम सास्कोफको आकलनलाई आधार मानेर गरेको जनाएको छ । साथै नेपालको मनसुन ऋतुको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र एन्सो तथा हिन्द महासागरमा विकसित हुने इण्डिन ओसन डाइपल आईओडीको हालको अवस्थाको विश्लेषणलाई पनि आधार मानिएको छ ।
विभागका अनुसार हाल हिन्द महासागरमा एन्सो तटस्थ हुने अवस्थामा रही एल निनो अवस्थातर्फ उन्मुख छ । त्यसैगरी आईओडी हाल तटस्थ अवस्थामा छ भने आगामाी मनसुन ऋतुको अन्त्य सम्ममा धनात्मक हुने आँकलन गरिएको छ ।
गत वर्ष २०८२ सालमा विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने र मधेश प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको जनाएको थियो । धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कमदेखि सरदर वर्षा र केही केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको थियो । अधिकतम र न्यूनतम तापक्रम पूर्वानुमान गरेजस्तै अधिकांश स्थानमा सरदर भन्दा बढी मापन भएको विभागले जनाएको छ ।


