बैशाख २४ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका अन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टको भरमा निर्भर रहेका छन् । अन्न पिस्ने एकमात्र माध्याम पानी घट्ट भएकाले धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टको भरमा निर्भर रहेका हुन । यस वर्ष गाउँमा विद्युत्को तार जोडीएको भए पनि सेवा सञ्चालनमा नआएकाले स्थानीयले समस्या भोग्दै आएका छन ।
दैनिक आवश्यक पिठोका लागी स्थानीय पानी घट्टकै भरमा निर्भर रहेका छन । पिसानी गरेबाफत सेवाग्राहीले केही पिठो घट्ट सञ्चालकलाई दिने प्रचलन रहेको छ । जसले घट्ट सञ्चालक परिवारको खाद्यान्न आवश्यकतामा टेवा पग्ने गरेको छ भने स्थानीयले कुटानी पीसानीको सुविधा पाएका छन । पानी घट्ट सञ्चालक पचास वर्षीय साइमले धामीले ११ सदस्यीय परिवार घट्टमा आश्रित रहेको बताए ।
धामी परिवारले चलाउदै आएको पनी घट्टका लागी कुलो मर्मत गर्ने, घट्ट व्यवस्थापनको सम्पूर्ण कार्य गर्दै आएको छ । घट्ट सञ्चालन गरेवाफत प्राप्त हुने पिठोले करिब चार महिना पुग्ने बताउदै उनले बाँकी समय पाखो जमिनको उत्पादनले धान्ने गरिएको उनले बताए । एक दशकअघि दार्चुलाको धुलीगडाबाट पहिरोका कारण विस्थापित भई आएको बताउदै उनले हाल धारापानी खोला नजिकैको जग्गा खरिद गरी बस्दै आएको बताए ।
यसका अतिरिक्त सानो किराना र चियाको पसल पनि सञ्चालन गरेको बताउदै उनले त्यसबाट हुने आम्दानीले घर खर्च चलाउन सहज भएको बताए । पहिले धारापानी घुम्न आउने आन्तरिक पर्यटकको निकै चहलपहल हुने भएकाले कमाइ पनि राम्रै हुने गरेको बताउदै उनले सडक असुविधका कारण हाल थोरै मात्रै पर्यटक आउदा आम्दानी पनि थोरै हुने गरेको बताए । घरका युवाहरु कामको खोजीमा भारततर्फ लागेको उनले बताए ।
स्थानीय जयलाल धामीले धारापानी खोलाबाट ल्याइएको कुलोमा पानी कम हुँदा घट्टको गति सुस्त हुने भएकाले दैनिक करिब १५ किलो मात्र अन्न पिस्न सकिने बताए । विसं २०४० साल देखि आफ्नो परिवार त्यही क्षेत्रमा बस्दै आएको बताउदै उनले गहुँ मकै लगायतका अन्न पिस्नका लागि एक मात्रै साधन घट्टनै भएको बताए । कुटानी पिसानी गर्ने मिलसम्म पुग्न झण्डै तीन किलोमिटर वन क्षेत्र छिचोल्नु पर्ने बताउदै उनले सडक भरपर्दो नहुँदा पैदलनै हिँड्नुपर्ने भएकाले घट्टनै एकमात्रै कुटानी पिसानीको माध्याम भएको उनले बताए ।
गाउँका युवाहरु सबै भारततर्फ कमाउन गएकाले गाउँमा बुढापाकाहरु मात्रै भएकाले घट्टमै भरपर्नुपरेको उनले बताए । कसानी, बेलडाँगा, धारापानी, बर्रेगडा, कार्कीफाँटा र बागमारेका बासिन्दाले पालैपालो पिठो पिस्ने गरेको उनले बताए । पिसानीको सट्टा आधा किलो देखि एक किलो सम्म पिठो दिने चलनले सञ्चालकको जीविका चल्दै आएको उनले बताए । चारैतिर जङ्गल र नदीले घेरिएको धारापानीमा हाल १४ परिवारले बसोबास गर्दै आएको उनले जानकारी गराए ।


