बैशाख २३ धनगढी । भारतबाट आयात हुने माल सामानमा भन्सार कार्यालयले कडाइ गरेपछि नेपालका बजारहरुमा चहलपहल बढेको छ । भारतबाट मालसामान ल्याउन कडाई गरिए पछि नेपालका बजारहरुमा चहलपहल बढेको हो ।
सामान्य किनमेल देखि अन्य ब्यापारिक सामान खरिद गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकोमा पछिल्लो समय नेपाल सरकारले एक सय भन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो ।
नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएका छन् । वर्षौँदेखि सुनसान रहने बजारमा अहिले व्यापारिक गतिविधि बढ्न थालेको उनीहरूले जानकारी गराएका छन । धनगढीका स्टेशनरी व्यवसायी विजयराज पन्तले पहिलेको तुलनामा व्यापारिक गतिविधि बढेको बताए । पहिले नेपाली उपभोक्ताहरु दुई किलो चिनी लिन पनि सीमापारि जाने गरेको बताउदै उनले अहिले पारिका बजार नगई चिनी लगायतका सामान नेपाली बजारबाटै खरिद गर्दा सकारात्मक प्रभाव परेको बताए ।
पहिलेको तुलनामा हालका दिनहरूमा चहलपहल बढेको भए पनि अपेक्षित सुधार भने हुन नसकेको उनले बताए । त्यसैगरी धनगढीका उपभोक्ता कृष्णबहादुर चौधरीले छोरीको विवाहको तयारीस्वरुप तयारी कपडा किन्न सीमापारि बनगाउँ बजार पुगेर फर्किँदा सीमामा सास्ती खेप्नुपरेको बताए । सीमामा प्रहरी अधिकारीसँग विवाद भएको बताउदै उनले ल्याएका समानको भन्सार तिर्न बाध्य भएँको बताए ।
सीमापारिको बनगाउँ बजारबाट छोरीको विवाहका लागी १२ हजार ४ सय रुपैयाकोे तयारी लुगा ल्याउदा भन्सार कार्यालयमा सात हजार ९ सय ४५ रुपैयाँ कर तिरेको उनले बताए । सीमा क्षेत्रमा प्रहरीको सम्झाइ बुझाई भन्दा पनि दबाब बढी हुने गरेको उनले बताएका छन । विदेशबाट आयात हुने समानमा अधिकतम् खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरिए पछि भन्सार कार्यालयको काम केही प्रभावित भएको छ ।
कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सेनाले पेट्रोलिमय पदार्थमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले चैत्र महिनाको तुलनामा यस महिना पेट्रोलियममा मात्र ३० प्रतिशतले राजस्व सङ्कलन प्रभावित भएको बताए ।
एमआरपी अधिकतम खुद्रा मूल्यको जाँच पासमा समस्या सृजना हुँदा पनि राजस्व प्रभावित हुन पुगेको उनले बताए ।
एक सय रुपैयाँ भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लिने व्यवस्थामा कडाइ गरिँदा धेरै नेपाली उपभोक्ता किनमेलका लागि सीमापारिका बजार सम्म जान रोकिएको उनले बताए । भन्सार शुल्क उठाउन कडाइ गरिएपछि सीमापारि जानेहरूको संख्या न्यून रहेको छ । पर्ख र हेरको अवस्थामा बसिरहेका धेरैजसो नेपाली उपभोक्ताहरुले अहिलेका लागि नेपाली बजारमै किनमेल गरिरहेका छन् ।
यात्रुले एक सय भन्दा बढीको मालवस्तु ल्याउँदा भन्सार लाग्ने पुरानै व्यवस्थालाई कार्यान्वयन गर्न अहिले कडाइ मात्र गरिएको उनले बताए । भन्सार कार्यालयले भित्रिने मालवस्तुमा बढीमा ३९ प्रतिशत सम्म भन्सार शुल्क लिने गरेको छ । राजस्व चुहावट नियन्त्रण गर्न एक सयभन्दा बढीका मालवस्तुमा कडाइका साथ भन्सार लिने कार्यले सकारात्मक प्रभाव देखिएको कतिपय नेपाली व्यापारीको प्रतिक्रिया छ ।
उनीहरुले चुहावट नियन्त्रण गर्न सीमामा बस्ने कार्यालय र कर्मचारीलाई थप सशक्त र सक्रिय बनाउनु पर्ने बताएका छन । सीमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरू मालवस्तु खरिद गर्न सीमापारि पुग्नुपर्ने सामान्य जस्तै भएको अबश्थामा अहिले भने भन्सारमा कडाइ गरिए पछि साइकलमा मालवस्तु भित्र्याउनेहरूको गतिविधि ह्वात्तै घटेको छ ।
कैलालीको पहलमानपुरका तेजनारायण चौधरीले सीमामा मालवस्तु ल्याउन कडाइ गरिए पछि चोर नाकाबाट अवैध चोरी हुने क्रम पनि बढ्न सक्ने बताए । अहिले उपभोक्ताहरूले यस्तो बाटो प्रयोग गरिरहेको पनि सुन्न आएको उनले बताए । भारतमा बनेको लुगा धुने एक पोका निर्मा पाउडरको नेपाली बजारमा १ सय ५० रुपैया सम्म मूल्य पर्न थालेको बताउदै उनले पहिले यो पाउडर १ सय रुपैयामा पाउने गरेको बताए ।
उक्त सामान चोर नाकाबाट भित्रिएको हुनसक्ने उनले आशङ्का गरेका छन । भन्सारमा कडाइ गरिए पछि भारतको सीमावर्ती बजार बनगाउँमा पनि चहलपहल घटेको छ । नेपाली उपभोक्तालाई लक्षित गरेर सञ्चालन गरिएको उक्त बजारमा किनमेल गर्ने मध्ये झण्डै ९० प्रतिशत उपभोक्ता यस अघिसम्म नेपालीहरु नै रहेका थिए । बजारमा नेपाली मुद्रामा कारोबार पनि सहज रूपमा हुने गरेको थियो ।
यसरी दिनहुँ मालबस्तुमा भन्सार महसुल लिने कार्य राम्रो भए पनि विवाह, व्रतबन्ध र कतिपय घरायसी प्रयोजनका लागि भित्र्याइने सामानहरूमा भन्सार महसुल लिने कुरा केही व्यावहारिक बनाउनु पर्ने स्थानीय नागरिकको सुझाव छ । ब्यापारिक हिसाबले ल्याइने सामानमा भन्सार शुल्क कडाइका साथ लिनुपर्ने बताउदै तेजनारायण चौधरीले विवाह, व्रतबन्ध र घर खर्चका लागि ल्याइने समानमा भन्सार शुल्क लिने कुरा व्यावहारिक नभएकाले यसमा केही पुनर्विचार गर्नु जायज हुने बताए ।


