बैशाख १८ धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरेका छन् । २५७० औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बौद्ध धर्मका प्रवर्तक, राष्ट्रका गौरव तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताउदै अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न सबैलाई आग्रह गरेका हुन ।
प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको बताउदै बुद्धका शिक्षाले विश्वमा प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न प्रेरणा दिने गरेको बताए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन—वैशाख शुक्ल पूर्णिमामा—परेको स्मरण गर्दै उनले यस अवसरमा चैत्य, गुम्बा र विहारहरूमा परम्परागत रूपमा पूजा–आराधना तथा विभिन्न कार्यक्रम गरी जयन्ती मनाइने गरेको बताए । त्यसैगरी अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा पनि प्रदेश प्रमुख मियाँले शुभकामना व्यक्त गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूमा सुख, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । सन्देशमा उनले सन् १८८६ मा अमेरिकाको सिकागोमा “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम” भन्ने नारासहित सुरु भएको श्रमिक आन्दोलनको स्मरण गर्दै श्रमिक अधिकारको सुनिश्चितता आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
श्रमजीवीहरूको योगदान राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भएको बताउदै उनले श्रमको उचित मूल्याङ्कन र सम्मान गर्नुपर्नेमा जोड दिएका छन । प्रदेश प्रमुख मियाँले श्रमिक वर्गको हकहित, स्वतन्त्रता र सामूहिक सौदाबाजी क्षमताको संरक्षण गर्दै उनीहरूको समग्र हित सुनिश्चित गर्न सबै पक्ष अग्रसर हुनु पर्ने बताएका छन् ।


