बैशाख १८ बाजुरा । तरकारी खेती विस्तार गरी किसानको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले गिफ्ट नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत ४ सय २३ जना किसानलाई विभिन्न तरकारीका बीउबिजन वितरण गरिएको छ । जियन आइ नेपालको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम मार्फत यस सिजनमा लगाउन मिल्ने ११ प्रजातिका तरकारीका बीउ किसानलाई वितरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका २ सय किसानलाई कृषि कार्य सहज र प्रभावकारी बनाउन आवश्यक सामाग्री समेत वितरण गरिएको छ । १८ वटा प्लास्टिक टर्नेल, २ सय वटा हजारी, लुज पाइप, ५० वटा काटछाँटका लागि प्रयोग हुने सिकेचर तथा ६० वटा सिँचाइका लागि स्प्रिङ्कल किसानलाई वितरण गरिएको हो । गिफ्ट नेपालका अध्यक्ष बल बहादुर रोकाया, परियोजना प्राविधिक सहायक, लेखा अधिकृत तथा स्वयंसेवक कृषि प्राविधिकको उपस्थितिमा सामग्री वितरण गरिएको बताइएको छ ।
परियोजनाका जेटीए विजय बि.सीले यस कार्यक्रम मार्फत किसानहरूलाई प्राकृतिक खेतीतर्फ आकर्षित गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको बताए । यसले किसानको आम्दानी वृद्धि गर्न मात्र नभई दिगो कृषि प्रणाली विकासमा समेत टेवा पु¥याउने उनले बताए । त्यसैगरी गिफ्ट नेपालका अध्यक्ष बलबहादुर रोकायले आगामी दिनमा संस्था र समुदायबीचको समन्वयलाई अझ सुदृढ बनाउँदै कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए । उनले न्यून आय भएका समुदायको जीविकोपार्जनमा सुधार ल्याउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने बताए ।
कार्यक्रममा गिफ्ट नेपालका कृषि प्राविधिक सुरेन्द्र बहादुर बोगटी, लेखापाल पुष्पा सेरला लगायत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त परियोजना लामो समय देखि बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन हुँदै आएको जानकारी गराउदै उनले जसले ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि र दिगो जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए ।
अनुदानले किसानलाई आत्मनिर्भर बनाउँछ कि निर्भरता बढाउँछ ? भन्ने प्रश्न कृषि क्षेत्रमा बारम्बार उठ्ने गरेको बताउदै उनले यही बहसका बीच गिफ्ट नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत बाजुरामा ४ सय २३ जना किसानलाई तरकारीका बीउबिजन र २ सय किसानलाई कृषि सामग्री वितरण गरिएको बताए ।
जियन आइ नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रमले तरकारी खेती विस्तार र उत्पादन वृद्धि गर्ने दाबी गरिएको छ, । तर यसको दीर्घकालीन प्रभाव भने परीक्षणकै चरणमा रहेको छ । यस सिजनका लागि ११ प्रजातिका तरकारीका बीउ वितरणसँगै प्लास्टिक टर्नेल, हजारी, लुज पाइप, सिकेचर र स्प्रिङ्कल जस्ता सामग्री किसानलाई उपलब्ध गराइएको बताईएको छ ।


