बैशाख १८ धनगढी । लागूऔषध न्यूनीकरणको सन्देश सहित जेसीआई धनगढीले धनगढी रंगशालामा आयोजना गरेको धनगढी हाफ म्याराथनमा नेपाली सेनाका धावक नरेन्द्र सिंह रावत प्रथम भएका छन् । हाल सम्मकै उच्च पुरुस्कार राशी सहित आयोजित २१.१ किलोमिटर हाफ म्याराथनतर्फ नेपाली सेनाका धावक नरेन्द्र सिंह रावत प्रथम भएका हुन ।
अब धनगढी दौडिन्छ’ नारासहित शुक्रबार भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै विजयी भएका रावतले उपाधिसँगै ७७ हजार ७ सय ७७ रुपैया पुरस्कार समेत प्राप्त गरेका छन । रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए ।
२०७९ र २०८० सालमा दोस्रो भएका रावत २०८१ र २०८२ मा भने तेस्रो भएका थिए । धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा सेनाकै सञ्जय श्रेष्ठ दोस्रो र सेनाकै अक्कल पाल तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठले ५५ हजार ५ सय ५५ र तेस्रो भएका पालले ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी ५ किलोमिटर कर्पोरेटतर्फ कुशल प्रसाद जैसी प्रथम, प्रदीप खत्री दोस्रो र तेज बहादुर चन्द तेस्रो भएका छन भने ५ किलोमिटर महिलातर्फ देवकी कुमारी धामी प्रथम, सिला चौधरी दोस्रो र अप्सरा बम तेस्रो भएकी छिन । लक्की ड्रमार्फत जेनीथ कुँवरले सीजी एलइडी टिभी जितेकी छन् भने निसर्ग अस्पतालले सन्तोष पाल, आशा जोशी र डल्लु राना मगरलाई निःशुल्क होल बडी चेकअप सेवा प्रदान गर्ने घोषणा गरेको छ ।
जेसीआई धनगढीका अध्यक्ष महेश्वर ओझाले यस्ता कार्यक्रमहरूले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै खेलकुद मार्फत महत्वपूर्ण सामाजिक सन्देश प्रवाह गर्ने बताएका छन् । कार्यक्रम संयोजक दीपेश बोहराले कार्यक्रमसँगै विभिन्न स्टल सञ्चालन गरिनुका साथै रक्तदान शिविर पनि आयोजना गरिएको बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कार्यक्रमको उद्घाटन गरेका थिए भने समापन समारोहका प्रमुख अतिथि जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष जीवन कार्की रहेका थिए । उक्त अवसरमा म्याराथनका ‘फेस अफ द इभेन्ट’ दीपक उपाध्यायलाई सम्मान गरिएको थियो ।


