बैशाख १८ कञ्चनपुर । कञ्चनपुरमा हातखुट्टा बाधेँर बालकलाई कुट्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर–५ पोल्खरीमा ९ वर्षिय बालकलाई हातखुट्टा बाँधेर निर्धात कुटपिट गरेको अभियोगमा प्रहरीले स्थानिय ३६ वर्षीय भोज नाथलाई पक्राउ गरेको हो ।
बिहीबार दिउँसो सामाजिक सञ्जालमा बालकलाई हातखुट्टा बाँधेर कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेको जानकारी गराएको हो । ३६ वर्षीय नाथले काक्रा चोरेको आरोपमा बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । घटना बुधबार दिउँसोको हो ।
पोल्खरीस्थित चौधर नदीको बगरमा गाईबस्तु चराउन र क्रिकेट खेल्नका लागि ती बालक साथीहरुसँगै गएका थिए । क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गयो । उक्त बल लिन आफ्नो काक्राको बारी हुँदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर घर लगी घरमा हात र खुट्टा बाँधेर कुटपिट गरेका हुन् ।
‘नाबालकको दुवै हात पछाडितिर र दुवै खुट्टा डोरीले बाँधेर भुइमा लडाएर ढुंगा, लठ्ठी र लातमुक्काले रगक्ताम्य हुने गरी बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको घाइते बालककी हजुर आमा नन्दा मेहताले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ।
त्यसपछि बालकलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका थिए । पीडित परिवारले नाथबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । बेदकोट नगरपालीका वडा नम्बर–३ दैजी घरभएका बालकका आमाबुवा रोजगारीका लागि भारतमा रहेका छन् । ती बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन् ।
मामा घरकी हजुरआमाले नै उनको रेखदेख गर्दै आएकी छिन् । घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचार पछि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले जानकारी गराएका छन ।
एसपी खत्रीले बालकमाथि अमानवीय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिएर अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताएका छन ।


