बैशाख १८ धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–५ खानीडाँडाका महिलाहरुका लागी काफल आम्दानीको स्रोत बनेको छ । बिहान देखि साँझसम्म काफल बेच्दै गरेका महिलाहरूका लागी काफल आमदानीको स्रोत बनेको हो । जंगली फल काफल महिलाहरूका लागि केवल फल मात्र नभई जीवनयापनको मुख्य आधार बनेको छ ।
स्वावलम्बी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत काफल, फलफूल तथा तरकारी संकलन र बिक्री हुँदै आएको छ । करिब ५ सय महिला शेयर सदस्य रहेको सहकारीले उत्पादन संकलन गरी सदस्यहरूलाई उपलब्ध गराउँदै आएको छ, जसले उनीहरूलाई घरआँगनमै रोजगारी दिएको छ ।
संस्थाकी अध्यक्ष दीपा धामीले सहकारीले किसान र बजारबीच सेतुको काम गर्दै आएको बताईन । चुरे गाउँपालीका वडा नम्बर–५ का विभिन्न क्षेत्रबाट काफल संकलन गरी अत्तरिया, धनगढी र डडेल्धुरा सम्म बिक्री गर्ने गरेको उनले बताईन । एक सातामै १० देखि १५ क्विन्टल काफल बिक्री भइरहेको उनले जानकारी गराईन ।
थानीय व्यापारी खगिसरा सापकोटाले डोटीको बडिकेदार क्षेत्रबाट पनि काफल ल्याउने गरिएको बताईन । सिजन सुरु भएको एक हप्तामै दैनिक ४० देखि ५० केजी बिक्री भइरहेको उनले बताईन । स्थानीय स्तरमै उत्पादन संकलन र बजारीकरण सहज भएपछि गाउँमै रोजगारीको अवसर मीलेको उनले बताईन ।
सामाजिक सञ्जालको प्रभावले अत्तरिया, धनगढी र महेन्द्रनगरबाट समेत काफल खान आउनेको संख्या बढेको उनले बताईन । राजमार्ग यात्रुका लागि काफल मायाको चिनो बनेको बताउदै उनले खानीडाँडाका महिलाहरूको आत्मनिर्भरताको स्रोत बनेको बताईन ।


