बैशाख १६ धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशमा विगत जस्तो संगठित अपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ । पछिल्लो समय अपराधका घटनाबारे सर्वसाधारणले चिन्ता व्यक्त गर्दै आएको अबश्थामा प्रदेश प्रहरी कार्यालयले यस्तो दाबी गरेको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले हाल कुनै पनि संगठित अपराधिक समूह सक्रिय नरहेको दाबी गरेका हुन ।
अहिले त्यस्तो सक्रिय रूपमा कोही पनि नभएको बताउदै उनले उनीहरूलाई सक्रिय हुन नदिएको बताए । अहिले प्रहरीलाई काम गर्न विगतको तुलनामा सहज भएको बताउदै उनले राजनीतिक दबाब समेत नभएको बताए । प्रदेशका विभिन्न स्थानमा साना–ठूला अपराधिक सञ्जाल अझै सक्रिय रहेका छन् । विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा विगत देखि चर्चामा रहेका केही समूहहरूको प्रभाव पूर्ण रूपमा अन्त्य नभएको बताइएको छ ।
स्रोतका अनुसार नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङ जस्ता समूहले पहिले जेलभित्र समेत प्रभाव जमाएका थिए । हाल कारागार प्रशासनले यस्ता समूहबीच सम्पर्क हुन नदिन कडाइ गरेको बताईएको छ । कैदीहरूको सरुवा तथा निगरानी प्रणाली कडा बनाइएकाले पहिलेको जस्तो प्रभाव देखिन नसकेको सुरक्षा निकायको भनाइ छ । पहाडी जिल्लाहरूमा भने व्यक्तिगत रिसइबी, स्थानीय विवाद तथा राजनीतिक आडमा साना ग्याङ सक्रिय हुने गरेको दाबी गरिएको छ ।
केही समूहले विभिन्न राजनीतिक संगठनको नाम प्रयोग गरी धम्की दिने र चन्दा असुल्ने गतिविधि गरिरहेको स्रोतले जनाएको छ । प्रहरीले भने यस्ता गतिविधि माथि निगरानी बढाइएको र संगठित अपराधलाई नियन्त्रणमा राख्न विशेष रणनीति अपनाइएको जनाएको छ । “अपराधी भन्दा प्रहरी धेरै शक्तिशाली छ, कसैलाई छुट दिइने छैन,” एसएसपी विष्टले भने ।
यद्यपि, सर्वसाधारणमा भने अझै पनि अपराधी सञ्जाल पूर्ण रूपमा निष्क्रिय नभएको आशंका कायमै रहेको छ । विशेषगरी जेलभित्रैबाट निर्देशन आउने सम्भावनाले स्थानीयमा त्रास कायम रहेको बताइन्छ । प्रहरीले स्वतन्त्र र प्रभावकारी कार्यशैली मार्फत संगठित अपराध पूर्ण रूपमा नियन्त्रण गर्ने योजना अघि सारेको जनाएको छ ।


