चैत्र २९ धनगढी । कैलालीको विभिन्न पालिकामा बसोबास गर्ने मुक्त कमैयाले स्थायी बसोबास र रोजगारी पाउने आशामा रहेका छन । मुक्त भएको २५ वर्ष पुग्न लाग्दा पनि मुक्त कमैयाको परिचय पत्र समेत पाउन नसकेका मुक्त कमैयाहरु स्थायी बसोबास र रोजगारी पाउने आशामा रहेका हुन । आफ्नो नाममा जग्गाधनी पुर्जा समेत पाउन नसकेका मुक्त कमैयाहरुको अझै बसोबासको ठेगान हुन सकेको छैन ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–८, आमफाँटा मुक्त कमैया बस्तीका रामलाल चौधरीले परिचय पत्र पाए पनि अहिले सम्म आफ्नो भाइले जग्गा नपाएको बताए । आफूसँगै बसेका भाइ शिवप्रसाद अहिले रोजगारीका लागि भारतमा रहेको बताउदै उनले राज्यसँग धेरै पटक आफ्ना समस्या राखे पनि मुक्त कमैयाको समस्या सुनुवाइ नभएको बताए ।
पहिला भाइले रातो परिचय पत्र पाउन छुट्ेको बताउदै उनले अहिले परिचय पत्र, भएपनि बसोबासको व्यवस्था नभएको बताए । घोडाघोडी नगरपालिका वडा नम्बर–४, बाटुलीचौरमा २१ घर मुक्त कमैयाको अस्थायी शिविर रहेको शिविरका जुगराम चौधरीले बताए । परिचयपत्र पाएका तर बसोबासको ठेगान नभएका उनीहरू २०६० सालमा बाटुलीचौरमा अस्थायी रूपमा बस्दै आएको उनले बताए ।
चौधरीले सरकारबाट जग्गा पाउन छुटेका आफूहरूको अहिलेसम्म व्यवस्था हुन नसकेको बताए । नयाँ सरकारले आफूहरूका लागि केही गर्छ कि भन्ने आस पलाएको उनले बताए । मुक्त कमैया बस्तीमा अर्को मुख्य समस्याका रूपमा बेरोजगारी रहेको उनले बताए । छोराबुहारी काम गर्न भारत गएको उनीहरुले बताएका छन । १३ जनाको आफ्नो परिवारमा छ जना भारतमा काम गर्न गएको रामलालले बताए ।
नेपालमै उद्योग, कलकारखाना खुले नेपालमै काम पाउने बताउदै उनले रोजगारी नभएकै कारण भारत जानु परेको बताए । सरकारले दिएको पाँच कट्ठा जमिनमा घरबास बनाएका शिविरका अधिकांश कामको खोजीमा भारत जाने गरेको उनले बताए । आमफाँटा शिविरका टीकादेवी चौधरीले गाउँका अधिकांश युवा कामका लागि भारत जाने गरेको बताए ।
भारतमा जोखिम मोलेर काम गर्दा कतिपयले उतै ज्यान गुमाउने गरेको उनले बताए । आमफाँटा शिविरमा दुई सय परिवार मुक्त कमैया रहेका छन् । कैलालीमा सबैभन्दा बढी घोडाघोडी नगरपालिकामा मुक्त कमैया शिविर रहेको उनले बताए । मुक्त कमैयाले जग्गा पाउन छुटेकाका लागि लालपुर्जा सहितको बसोबासको व्यवस्था र नेपालमै काम गर्ने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका छन् ।


