चैत्र १२ धनगढी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कैलाली–कञ्चनपुर सबैभन्दा बढी क्षति भएका जिल्लाको सूचीमा रहेका छन । जेनजी आन्दोलनको अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा कैलाली–कञ्चनपुर सबैभन्दा बढी क्षति भएका जिल्लाको सूचीमा रहेका हुन ।
आयोगले आफ्नो अध्ययन प्रतिवेदन बुझाए पनि सरकारले अहिले सम्म औपचारिक रूपमा सार्वजनिक गरेको छैन । सञ्चार माध्यम मार्फत बाहिरिएको उक्त प्रतिवेदनमा राजधानी काठमाडौँ सहित बढी क्षति भएका जिल्लाहरूको स्थलगत अवस्था, सरकारी अधिकारीहरूको बयान तथा सरोकारवालाको धारणा समेटिएको छ ।
प्रतिवेदन अनुसार आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएका जिल्लाको सूचीमा कैलाली र कञ्चनपुर अग्रपंक्तिमा रहेका छन् । कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिको स्थलगत निरीक्षण पछि आयोगले स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको राय पनि समेटेको छ । प्रतिवेदनमा स्थानीय तहका कार्यालय, वडा कार्यालय र सेवा केन्द्रहरूमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा “बिहान करिब ९ बजेदेखि पटक–पटक आएका प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र चोरी–लुटपाट गरेको उल्लेख गरिएको छ । केही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू प्रत्यक्ष रूपमा संलग्न देखिएको उल्लेख छ । साथै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका पालिकाहरूमा बढी क्षति पु¥याइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जानकी, टीकापुर र भजनी जस्ता केही पालिकाहरूमा भने ठूलो क्षति नभएको उल्लेख गरिएको छ । प्रतिवेदनले माओवादी केन्द्रका केही कार्यकर्ता पनि आगजनीमा संलग्न रहेको दाबी गरेको छ ।
आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण स्थानीय प्रशासन मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइ सकिएको जनाइएको छ । प्रहरीबाट मुचुल्का तयार भइसकेको र कतिपय पालिकाहरूले सहरी विकास शाखा मार्फत क्षतिको यकिन विवरण संकलन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
घटनाका क्रममा कार्यालय भित्रै कार्यरत कर्मचारीहरू अचानक भएको आगजनीबाट ज्यान जोगाउन कठिन अवस्थामा परेको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ । कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोगलाई पठाएको विवरणमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता संलग्न रहेको उल्लेख गरेका छन् ।
प्रतिवेदनका अनुसार तोडफोड र आगजनीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपा, विप्लव समूह तथा अन्य दलका भातृ संगठनका युवा–विद्यार्थी कार्यकर्ता सहभागी रहेको देखिएको उल्लेख छ । यसका साथै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर तथा भिडियो मार्फत घटनामा संलग्न व्यक्तिहरूको पहिचान र विश्लेषण गरिएको पनि जनाइएको छ ।
प्रतिवेदनले केही गैरराजनीतिक समूह समेत लुटपाटमा संलग्न रहेको औंल्याएको छ । काम तथा व्यवसायका सिलसिलामा रहेका भारतीय नागरिक, यातायात व्यवसायी, चालक, सहचालक, मेकानिक्स, होटल व्यवसायी तथा होटलमा कार्यरत कर्मचारीहरू समेत धनमाल लुट्ने उद्देश्यले घटनामा संलग्न भएको देखिएको उल्लेख गरिएको छ ।
आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधिमा बहुपक्षीय संलग्नता देखिएको निष्कर्ष निकाल्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही आवश्यक रहेको उल्लेख गरिएको छ ।


