चैत्र ११ धनगढी । सुदूरपश्चिमको दार्चुला जिल्ला अन्तर्गत व्याँस गाउँपालिका वडा नम्बर–२ दुम्लिङ क्षेत्रमा महाकाली नदी तर्दै गर्दा हाल सम्म २३ जनाले ज्यान गुमाएका छन । स्थानीय स्रोतका अनुसार २०५० साल देखि यता तुइन प्रयोगका क्रममा २३ जनाले ज्यान गुमाएका हुन । यस्ता दुःखद घटना निरन्तर दोहोरिँदै आएका छन् । मृत्यु हुनेहरूमा महिला, पुरुष तथा बालबालिका समेत रहेका छन् ।
अधिकांश दुर्घटना जोखिमपूर्ण तुइन, कमजोर संरचना तथा नदीमा पानीको बहाव बढेका बेला पार गर्न खोज्दा भएको बताइएको छ । दुम्लिङकै स्थानीय सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, विनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, बरुसिंह बुढाथोकी र विमला जोहारी सहित २३ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरीै, हुम्लाका कैलास लामा तथा महाकाली नगरपालिकाका विरा लोथ्यालको पनि तुइन दुर्घटनामा मृत्यु भएको छ । अन्य मृतकहरूमा महिमन गव्र्याल, सिन्दल भण्डारी, सचिन बुढाथोकी, नारायण बुढाथोकी, जसपाल लोहार, भवानसिंह कुँवर, किम्मा धामी, देवसिंह धामी, इन्द्रसिंह धामी, भुपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, वसन्ती कामी, रोहित कामी र जयसिंह धामी रहेका छन् ।
स्थानीय बासिन्दाले सुरक्षित पुलको अभावका कारण अझै तुइन प्रयोग गर्न बाध्य भएको गुनासो गरेका छन् । सरकारले तुइन हटाउने निर्णय गरे पनि वैकल्पिक संरचना निर्माणमा ढिलाइ हुँदा नागरिकको ज्यान जोखिममा परेको उनीहरूको भनाइ छ । महाकाली नदी नेपाल–भारत सीमाना नदी भएकाले पुल निर्माणका लागि दुवै देशको सहमति आवश्यक पर्ने बताइएको छ ।
भारतीय पक्षबाट अनुमति नआउँदा पुल निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति अभियानले जनश्रमदान मार्फत झोलुंगे पुल निर्माणको पहल थालेको छ । यसका लागि उनको टोली दुम्लिङ पठाइएको छ । स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन तत्काल सुरक्षित झोलुंगे पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।


