माघ ०७ धनगढी । कैलालीको क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराएका रेशमलाल चौधरीको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । उनीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले उजुरी दर्ता गराएका हुन ।
उजुरीकर्ता भट्टराईको उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा १६ को (घ) अनुसार कुनै कसुरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
उनले २०८० जेठ २ गते २०७७–सीआर १०७५ भई सर्वोच्च अदालतबाट जन्मकैद सजाय भई उक्त मुद्दाको अन्तिम फैसला भएकाले मनोनयन पत्र बदर गरी पाउँ भनि निवेदन दिइएको निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन कार्यालयले २०८२ माघ ८ गते विहान साढे १० बजेभित्र आफ्ना सबुत प्रमाण सहित उपस्थित हुन भनेको छ । निर्वाचन आयोगले माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनय पत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने समय तोकेको छ ।


