असोज २१ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालन अनिश्चित बनेको छ । आगजनी र तोडफोड गरिएको प्रदेश सभा भवन सहित अन्य संरचना मर्मत नगरिएकाले प्रदेश सभा बैठक सञ्चालन अनिश्चित बनेको हो ।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन सहित प्रदेश सभा सचिवालय, विषयगत समितिका कार्यालय, संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
आगजनी र तोडफोडबाट प्रदेश सभाको ९० प्रतिशत संरचना नष्ट भएको छ ।
मर्मत नगरी बैठक सञ्चालनको अन्य कुनै विकल्प नरहेका कारण प्रदेश सभा बैठकको सम्बन्धमा अहिले सम्म कुनै पनि टुङ्गो नलाइएको सभामुख भीमबहादुर भण्डारीले बताए । प्रदेश सभामा आगजनी र तोडफोड भएको एक महिना पुग्न लागे पनि मर्मतको काम अझै सुरु भएको छैन ।
मर्मतको कार्य अगाडी बढाउन छलफल भइरहेको बताउदै सभामुख भण्डारीले मर्मत नगरिकन प्रदेश सभा बैठक सञ्चालन गर्न नसकिने बताए । ठाउँ नै छैन, कहाँ बसाउने ? अब सबै काम तिहार पछि मात्रै हुन्छ उनले भने ।
प्रदेश सभाको पछिल्लो बैठक भदौ ५ गते बसेको थियो । जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी र तोडफोड गरेपछि नीति निर्धारण तथा कानुन निर्माण जस्ता महत्वपूर्ण कार्य गर्ने संस्था बन्द रहने समय अझै लम्बिएको उनले बताए ।
आगजनी र तोडफोडबाट १२ करोड रुपैयाँभन्दा बढी क्षति भएको सभामुख भण्डारीले बताए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश सभा सचिवालयमा आगजनी र तोडफोडबाट सात करोड भन्दा बढी क्षति भएको छ ।
आगजनीबाट छ करोड ९३ लाख २१ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको जनाइएको छ । त्यसैगरी प्रदेश सभा सचिवालयले भुक्तानी दिन बाँकी रहेको आठ लाख ६० हजार रुपैयाँ बराबरको दुई थान डिजिटल डिस्प्ले बोर्ड, ६० हजार रुपैयाँ बराबरको दुई थान सोफासेट जलेर नष्ट भएको बताईएको छ ।
त्यसैगरी सहरी विकासबाट भएको ठेक्कामध्ये हस्तान्तरण नभएको रोष्टम एक थान, एसी दुई थान जलेर नष्ट भएको जनाइएको छ ।
प्रदेश सभा सचिवालयको ६९ लाख ९९ हजारको एउटा मिनी बस, तीन करोड ३१ लाख ४९ हजार रुपैयाँको छ वटा जिप, ७१ लाख ९५ हजार रुपैयाँको पिकअप भ्यान, आठ लाख २६ हजार बराबरको चार वटा मोटरसाइकल नष्ट भएको विवरणमा उल्लेख गरिएको छ ।


