भदौ २४ काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिम सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् ।
नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट सुरु भएको जेनजी प्रदर्शनमा १९ जना नागरिकको हत्या गरिए पछि मंगलबार झनै आन्दोलन चर्किएको थियो ।
सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए । कारागारबाट निस्किए पछि पत्नी निकिता पौडेल मार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् ।
‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानु बमोजिमको प्रकिया पूरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ,’ लामिछानेले भनेका छन ।
‘यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।’
साथै, उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार अघि बढ्नु पर्ने कुरामा आफू स्पष्ट भएको बताए ।


