असार १९ धनगढी । नेकपा एमालेको भातृ सङ्गठन मुक्ति समाज नेपालका केन्द्रीय सदस्य सहित ११ जनाले सामुहिक राजीनामा दिएका छन् । कुनै सल्लाह र समन्वय नगरी एकपक्षीय ढङ्गले केन्द्रबाट सुदूरपश्चिमको इन्चार्ज तोकिएको भन्दै ११ जनाले केन्द्रीय अध्यक्ष समक्ष सामुहिक राजीनामा दिएका हुन ।
पार्टीका प्रदेश कमिटी सदस्य लक्ष्मी बिक, सत्यराज स्नेही, बलभद्र दयाल र लाल बहादुर बिकले राजीनामा दिएका छन । त्यसैगरी पार्टीको विभिन्न जिल्ला कमिटीमा रहेका सुन्दर जैरु, प्रेम भूल, हंश नेपाली, सुशीला मिजार, कलावती लावड, रमेश तिरुवा र दिनेश नेपालीले पनि राजीनामा दिएका छन् ।
समुहिक राजीनामा पत्रमा सुदूरपश्चिम प्रदेशमा आफै सल्लाह गरेर पार्टी तथा सङ्गठनको सिनियरटी क्रियाशीलताका आधारभूत आवश्यकता र सर्वस्वीकार्यता सहित अगाडि बढ्ने सहमति विपरीत सुदूरपश्चिम क्षेत्रका नेतृत्वसँग समेत परामर्श नगरी कार्य विभाजन गरिएको उल्लेख गरिएको छ ।
पत्रमा कार्य विभाजन नसच्याए सामूहिक रूपमा कामकाज गर्न नसक्ने भएकाले राजीनामा दिएको उल्लेख गरिएको छ । मुक्ति समाज नेपालको सातौँ राष्ट्रिय सम्मेलन पछि असार १३ र १४ गते बसेको दोस्रो बैठकबाट कञ्चनपुर जिल्ला कमिटी सदस्य रहेका भारमल सुनारलाई प्रदेश इन्चार्ज बनाइएको थियो ।
सुनारलाई दोस्रो बैठकबाट इन्चार्ज तोकिएको बताइए पनि बैठकमा उपस्थित पार्टीका ४ जना प्रदेश कमिटी सदस्य लगायत सुदूरपश्चिमको नेतृत्वसँग छलफल नगरी इन्चार्ज तोकिएको राजीनामा दिएकाहरूले बताएका छन ।
उनीहरूले सङ्गठनमा विद्यमान स्वेच्छाचारिता, एकल निर्णय प्रवृत्ति र पक्षपाती नेतृत्वशैली प्रति विरोध स्वरूप राजीनामा दिएको बताउँदै निर्णय सच्याउन भनिएको छ ।



